arin enterprises

हरेक नेवाः जात्रापर्वमा किन हुन्छ ‘मसाल’ ?

SamacharDesk – डा. रोशन श्रेष्ठ | २०८० बैशाख २, शनिबार

मध्यपुर थिमिमा बिस्काः जात्रा मनाउने क्रममा राती मसाल बालेर निस्किने चलन छ । जात्रामा मसाल बाल्ने चलन किन ?

रातिको जात्रामा मसाल बाल्नु भनेको बिजुली बत्ती नभएको अवस्थामा बाटो देखियोस् भनेर हो भनौंला । तर बिहान, दिउँसो, साँझमा हुने जात्रामा समेत मसाल बाल्ने चलन छ  । यसको पछाडी के रहस्य छ ? यसबारेमा केही चर्चा गर्ने जमर्को गर्दैछु ।

मसाल नेवाः सभ्यताको एउटा अंग हो । मसाललाई चिलाख पनि भनिन्छ । संस्कृत शब्द ’चिराग’ र नेवार शब्द ‘चिलाख’ उस्तै सुनिने भएकोले यो नेवार शब्द ‘चिलाख’ संस्कृत भाषाबाट आएको भनेर अनुमान गर्नेहरु हुन सक्लान् ।

तर संस्कृत भाषा नै अन्य धेरै भाषाको अध्ययन गरेर पछि मात्रै बनाइएको नयाँ भाषा हो भन्ने दाबी पनि आइरहेको छ । सबैभन्दा पुरानो भाषा संस्कृत हो भन्ने दाबी प्रमाणित नहुने आधार र बिश्लेषण दिँदै संस्कृतलाई नयाँ भाषा भनी दाबि गर्नेहरुको कुरा विचार गर्ने हो भने नेवार शब्द चिलाख बाट संस्कृतमा चिराग हुन गएको सम्भावना पनि देखिन्छ ।

संस्कृत भाषामा लेखिएका पुस्तकहरु प्राय भारतमा अंग्रेजहरुको आगमनपछि मात्र अस्तित्त्वमा आएको देखिन्छ भन्ने तथ्य अगाडी राखी कुरा गर्दा ‘संस्कृत नै मूल स्रोत’ भनेर दाबी गर्नेहरुको तर्क कमजोर हुने देखिन्छ । बरु प्राचीनकालीन पाली भाषा अथवा अन्य भाषामा पनि ‘चिलाख’ सँग मेल खाने शब्द छ कि भनेर खोज्दा यो कुरामा दरो जानकारी पाइएला ।

नामको कुरा एकैछिन छोडौं, प्रयोगलाई ध्यान दिउँ । हरेक नेवाः जात्रापर्वमा चिलाख वा भनौं मसाल नभई हुन्न । मध्यपुर थिमिको बिस्काः जात्रामा चिलाखको महत्त्व बेग्लै छ । घरघरबाट चिलाखसहित जात्रामा समावेश हुनुपर्ने भएकोले हरेक घरमा कलात्मक चिलाख बनाएर राख्ने चलन छ । कालान्तरमा कपडा बेरेर बनाइएको चिलाख पनि प्रयोगमा ल्याउन थालियो ।

सो चिलाखको टुप्पोमा आगो बालिएको हुन्छ । जात्रा सम्पन्न नभएसम्म आगो निभ्न दिनुहुन्न भनेर निरन्तर आगो बालिराख्नका लागि चिलाखमा तेल थपिरहनुपर्छ । यसको लागि कलात्मक तेलको भाँडो पनि सँगै लिएर जाने चलन छ ।

थिमिमा हुने चान्हसिया जात्रा (रातीको जात्रा) मा बालकुमारी तल ल्याइने बेलामा हजारौं चिलाखहरु लाइनै देखिने र उक्त चिलाखको प्रकाश अति आकर्षक देखिन्छ । सो समयको त्यो मनमोहक दृश्य हेर्दा कहिल्यै मन भरिन्न ।

जात्रामा चिलाख बालेर जाने चलन किन बनाइयो होला ? यो विषयमा स्पष्ट आधार र बयान दिइएको कतै देखिन्न । कहिलेबाट यस्तो चलनको शुरुवात गरियो भनेर पनि कतै लेखिएको पाइन्न । त्यसैले यस्ता कुराहरु मानव सभ्यता विकासक्रमको अध्ययन र विश्लेषण नगरी राम्ररी बुझ्न सक्दैनौ ।

चिलाख भनेर आगोको मुस्लो हो । आगो भनेको प्राकृतिक हो, हाम्रो लागि शक्ति र आस्थाको केन्द्र हो । आगोलाई साक्षि राखी कसम खाने, आगोलाई पवित्र मानेर परिक्षा दिने, आगोको परिक्रमा गरी बिवाह जस्तो जन्म जन्मसम्म नछुट्टिने सम्बन्ध बनाउने, यस्ता चलनबाट स्पष्ट हुन्छ कि आगो भनेको निकै महत्त्वपूर्ण र पवित्र मानिएको हाम्रो आस्थाको प्रतिक हो ।

आगोसँग डराउने होइन, आगोसँगै जिउने कला विकास हुँदै गयो । कतै बलिरहेको आगो देख्यो भनेर त्यसलाई भगवान मानेर पूजा गर्दै आगोलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सिके

तर सभ्यताको प्रारम्भिक समयमा आगो मानिसको नियन्त्रणमा थिएन । आगो कसरी बल्छ, कतिखेर बल्छ, कतिबेर बल्छ, यस्ता विषय तत्कालीन समयमा मानिसहरुको ज्ञानको दायरा भन्दा बाहिर थियो ।

जंगलमा बलिरहेको आगो भनेको अनियन्त्रित प्रकोपको उदाहरण हो, तर कसरी त्यसरी आगो बल्यो भनेर त्यो बेला मानिसहरुलाई थाहा थिएन । त्यसैले मानिसहरुको लागि आगो प्राकृतिक शक्ति भगवान बराबर भयो ।

समयक्रमसँगै मानिसहरुले थाहा पाए कि जोडले मेघ गर्जिने बेलामा चम्किने चट्याङ जहाँ पर्यो त्यहाँ आगो बल्छ । बिस्तारै त्यसरी बलेको आगाको नजिकै गएर नियाल्दै मानिसहरुले आगो प्रयोग गर्न पनि सिक्दै गए । आगोमा पोलेको खाद्य वस्तु मिठो हुन्छ भनेर थाहा पाउँदै गए । आगोसँग डराउने होइन, आगोसँगै जिउने कला विकास हुँदै गयो । कतै बलिरहेको आगो देख्यो भनेर त्यसलाई भगवान मानेर पूजा गर्दै आगोलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सिके ।

मानिसहरुले आगो बाल्न नजानेको बेलामा चट्याङ नै आगोको श्रोत थियो । ठुलो बिजुली चम्किएर चट्याङ पर्ने बेलामा नोक्सानी हुन्छ, तर त्यसै चट्याङबाट आगो पनि बाल्ने भएकोले चट्याङलाई भगवानको बरदानको रुपमा लिने, चट्याङले बालेको आगोलाई भगवानले दर्शन दिएको भनेर मान्ने संस्कारको विकास भयो ।

मेरो बाल्यकालसम्म मैले भाग लिएको तर अचेल लोप भइसकेको एउटा चलनको उदाहरण दिन्छु ।

हरेकले खेतमा खेतीपाती गर्ने जमानाको कुरा हो । यदि आकाशबाट परेको पानी पुगेन भने समयमा धान रोप्न पाइन्न । त्यो बेलामा भगवानले समयमा वर्षा गरिदेओस् भनेर ‘हरहर महाद्यः वागां द्यः’ भनेर कराउँदै जुलुस जस्तै जाने चलन थियो ।

‘बप्पा महाद्यः वागां द्यः’, ’पशुपति महादेव वागां द्यः’ आदि पुकार गर्नु भनेको वर्षा होस् भनेर प्रार्थना गर्नु हो । त्यस्तै, विगतको समयमा चट्याङ परेपछि मात्र आगो बल्ने जमानामा आगोको बीउको अभाव हुँदा ‘मिया द्यः मलः जुका ब्यु’ (अग्निदेवता, चट्याङ पारीदेउ) भनेर पुकार गर्ने चलन पनि शायद थियो ।

जसरी हिजोआज धानबाली लगाउनेहरुको संख्या कम हुँदै गएपछि ‘वा गायेमा द्यः’ (वर्षा हो) भनेर पुकार गर्ने चलन लोप भयो, त्यस्तै पछि आगोको बीउ जोगाउने सीपको बिकास भएपछि ‘मलः जुइमा’ (चट्याङ परोस्) भनेर पुकार गर्ने चलन पनि हरायो होला ।

आगोको बीउ जोगाइराख्ने सीपको संरक्षण र विकासको प्रतिक भनेको अग्निमठ हो । यसलाई स्थानीय नेवार समुदाय अगिंमथः भन्ने गर्छन् । विगतमा हरेक नेवार बस्तीमा अग्निमठ हुन्थ्यो तर, अचेल साँखु र पाटनमा मात्र बाँकि छ शायद । अन्त कहाँ कहाँ बाँकि छ भनेर खोजीनीति नै गर्नुपर्छ ।

अग्निमठ भनेको निरन्तर आगो बलिरहने कुण्ड हो । यहाँ अग्निहोत्री गुरुहरुले निरन्तर आगो बालिराख्नुको साथै तन्त्रसाधना पनि गर्ने गर्छन् । साँखु र पाटनस्थित अग्निमठको आगो दुई हजार वर्षदेखि आजसम्म पनि निरन्तर बलिरहेको विश्वास गरिन्छ ।

आगोको बीउ जोगाउन जानेपछि मानिसहरुले आगो नियन्त्रण र उपयोग गर्न पनि सिके । मठबाट आगो आआफ्नो घरमा ल्याउने, आगोलाई सुरक्षित राख्ने, आगोलाई भान्छामा प्रयोग गर्ने र मिठो पकाएर खाने संस्कार, संस्कृतिको पनि विकास हुँदै गयो ।

विभिन्न सीपको विकास हुँदै गएपछि आगोको बीउ जोगाउने ठाउँ विभिन्न ज्यासलहरु पनि हुन थाल्यो । ज्यासल भन्नाले मानन्धरहरुको तेल मिल, फलामको काम गर्ने ठाउँ, माटोको भाँडाकुँडा बनाएर पोल्ने ठाउँ लगायतका ठाउँहरु पनि आागोको बीउ जोगाउने ठाउँको रुपमा विकास भयो ।

उनीहरुको व्यवसायको लागि निरन्तर आगो चाहिने भएर यस्तो व्यवसाय गर्ने मानिसहरु धेरै भएको ठाउँहरुमा अग्निमठ विस्तारै हराउँदै गयो ।

साथै आगोको प्रयोग बढ्न थालेसँगै आगलागीको दुर्घटना पनि हुन थाल्यो । योसँगै दुर्घटनाको समाधान पानी हो भन्दै बस्तीको नजिकै पोखरी बनाउने सभ्यताको पनि विकास हुनथाल्यो ।

यसरी आगोलाई नियन्त्रण र उपयोग गर्ने सीप बिकास भएको र आगोको प्रयोगबाट विभिन्न सरसामग्री बनाउने सीप विकास गर्ने आदि त्यो जमानाको वैज्ञानिक उपलब्धि थियो । आगोलाई नियन्त्रणमा राख्न सक्नु भनेको मानव सभ्यता विकासको निकै महत्त्वपूर्ण उपलव्धि हो ।

आगोलाई नियन्त्रण गर्न जानेको समुदाय धमाधम विकसित र सभ्य हुनथाल्यो र नजानेको समुदाय विकासमा पछि पर्दै गयो ।

नेवाः सभ्यताको चिलाख प्रदर्शन भनेको त्यहि सभ्यता विकासको प्रतिक हो । ‘आगो हाम्रो नियन्त्रणमा छ, आगोलाई हामीले आफ्नो ‘हातका खेल’ गर्न जानेका छौं’ भनेर हर्षोल्लास र प्रदर्शन गर्ने संस्कृति भनेको चिलाख संस्कृति हो । नयाँ पुस्तालाइ आगो नियन्त्रण र सम्बर्ध्दन गर्न सिकाउने अवसर पनि हो, चिलाख संस्कृति ।

त्यसैले नेवार जात्रापर्वमा राती होस् वा दिउँसो, चिलाख बाल्ने चलन बन्यो । यो चलन दुई चार सय वर्ष पुरानो चलन होइन, हजारौं वर्ष पुरानो चलनको निरन्तरता हो । प्राचीन मानव विकासको एउटा विशाल क्रान्तिको प्रतिक हो ।

कुरा बुझ्नुहोला, मुसुमुसु हाँस्नुहोला ।

Categorized in बिचार
SKIP THIS maharjan complex bumper adv