जहाज खरिद प्रकरणमा कंसाकारसहित चार जना दोषी ठहर
SamacharDesk | २०८१ मङ्सिर २१, शुक्रबार

वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले चार जनालाई दोष ठहर गरेको छ ।
अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । दुई जना पुर्व सचिवलाई उक्त प्रकरणमा दोषी करार गरेको छ भने तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाई दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा दुई वटा वाइडबडी खरिदमा एक अर्बभन्दा बढी अनियमितता भएको दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो । बिहीबार राति अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले फैसला सुनाएको हो ।
करिब एक महिनादेखि मुद्दा निरन्तर सुनुवाइमा राखिएको थियो । अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना विगोसहित थप दुई वर्ष नौ महिना कैद सजाय सुनाएको छ ।
कंसाकारले ज्येष्ठ नागरिक ऐन अनुसार ५० प्रतिशत सजाय छुट पाउने फैसला पनि विशेषले गरेको छ । यस्तै निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई थपसहित एक वर्ष नौ महिना कैद सजायको फैसला विशेषले गरेको छ ।
दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना अधिकारीलाई पनि हुने छ । सोही बराबरको बिगो जफतसमेत हुने फैसला विशेषले गरेको छ । अदालतले पूर्वसचिव एवं निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ ।
ढुङ्गानाको हकमा पनि कुल बिगोको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबानाको फैसला भएको छ । दामासाही बिगो असुलउपरको फैसला पनि विशेषले गरेको छ ।
यस्तै नेपाल सरकारका सहसचिव एवं पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला अदालतले गरेको छ । दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना लामिछानेलाई पनि हुने छ ।
बिगो असुलउपरको फैसला उहाँको हकमा पनि लागू हुने छ । विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि अदालतले दोषी ठहर गरेको छ ।
उनीहरूलाई पनि एक वर्ष ६ महिना कैद र दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबानाको फैसला अदालतले गरेको छ । दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् ।
Categorized in राष्ट्रिय