रंगभेदी हिंसामा खेलाडीहरूबाट पनि व्यापक विरोध
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २३, शुक्रबार

रंगभेदी हिंसाको बिषयलाई लिएर खेलकुद क्षेत्रमा पनि व्यापक विरोध शुरु भएको छ ।
एक गोरा पुलिस अधिकारीले काला जातीका व्यक्तिलाई घुँडाले थिचेर मारेको घटनाको विरोधमा विभिन्न खेलसँग आवद्ध खेलाडीहरु पनि उत्रेका हुन् ।
गत मे २५ मा ४६ वर्षीय अफ्रिकी अमेरिकी जर्ज फ्लोइडलाई नक्कली २० डलर नोट प्रयोग गरेको आरोपमा गोरा जातिका पुलिस अधिकारीले घुँडाले थिचेर मारेका थिए ।
अमेरिकाको अधिकांश बास्केटबल स्टारले सामाजिक संजालमा कालो फोटो राखेर वा प्रोफाइल फोटो कालो बनाउँदै यस घटनाको विरोधमा ‘ब्ल्याक आउट’ प्रदर्शनमा सहभागिता जनाए ।
साथै विश्व फुटबलका अधिकांश प्रमुख खेलाडीले पनि उक्त घटनाको विरोध गरेका छन् ।
सोमवार जर्मन बुन्डेसालिगाका चार खेलाडीले मैदानमै विरोध गरे । पार्डबोर्नमाथि जित निकालेसँगै डर्टमन्डका खेलाडीहरुले फ्लोयडका लागि न्याय भनी टिसर्टमा लेखेर प्रदर्शन गरे ।
फ्लोयड हत्याको विरोधमा बोरुसिया डर्टमुन्डका जाडोन सान्चो र अच्राफ हाकिमी, साल्केका वेस्टन म्याकेन र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले पनि विरोध जनाए ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा जर्मन बुन्डेसालिगाका खेलाडीले गरेको विरोधमा साथ दिएका छन् ।
इङ्गिलस क्लब लिभरपुलका खेलाडीहरुले पनि फ्लोयड हत्याविरुद्ध ऐक्यवद्धता जनाएका छन् । गत सोमवार अभ्यासका क्रममा २९ खेलाडीले घरेलु मैदानमा एनफिल्ड स्टेडियममा सेन्टरमा घुँडाले टेकेर गोलो घेरा हाल्दै फ्लोयडको हत्या विरुद्ध ऐक्यवद्धता जनाएका छन् ।
खेलाडीहरुले उक्त तस्बीर सामाजिक संजालमा शेयर गर्दै ‘ब्ल्याक लाइभ्स् म्याटर्स’ क्यापसन दिएका थिए ।
म्यानचेस्टर युनाइटेडका खेलाडी मार्कस रासफोर्डेले पनि अश्वेतहरुको जीवन, संस्कृति, समुदाय र समग्र अश्वेत जातिहरुले महत्व राख्ने भन्दै फ्लोयडको लागि न्यायको माग गरे ।
त्यस्तै फ्रेन्च फुटबलर पाउल पोग्बाले पनि सो घटनाप्रति आक्रोश, दया, घृणाको अनुभव गरिरहेको बताएका छन् ।
उनले ट्वीटर मार्फत हरेक दिन काम, स्कुल, खेलकुद जस्तो क्षेत्रमा भइरहेको रंगभेद रोकिनुपर्ने बताएका छन् । साथै उनले रंगको आधारमा हिंसा सह्य नहुने उल्लेख गरेको छन् ।
त्यस्तै अमेरिकी फुटबल लिग (एनएफएल) ले पनि अफिसियल ट्वीटरमा अमेरिकामा भएको घटनाले दुखित बनाएको भन्दै जर्ज फ्लोयडलाई श्रद्धान्जली दिए ।
वेस्टइन्डिजका चर्चित क्रिकेट खेलाडी क्रिसगेलले क्रिकेट पनि रंगभेदबाट अछुतो नरहेको दाबी गरेका छन् ।
उनले आफु पनि अश्वेत जातिको भएको र यो विभेदको सिकार आफु पनि बेलाबेलामा हुने गरेको बताए ।
— Chris Gayle (@henrygayle) June 1, 2020
फ्लोयड हत्याकाण्डले अहिले पुरै अमेरिका तनावग्रस्त छ र विश्वभर यस घटनाको विरोध भइरहेको छ ।
Categorized in स्पाेर्ट्स