बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरु पुरस्कृत
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ २०, बुधबार
२३ वडाका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा भएको बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ ।
काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा महानगरब्यापी स्कूलस्तरीय निबन्ध तथा कविता प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई गत शनिबार एक कार्यक्रम गरी पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा विजयी विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रमाणपत्र प्रदान गरिन् भने वडा २३ का वडाध्यक्ष मचाराजा महर्जनले नगद पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो (सान्त्वना) स्थान हासिल हुने प्रतियोगीहरुलाई क्रमशः जनही १० हजार, ७ हजार, ५ हजार र १५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कामपा उपप्रमुख डंगोल, वडाअध्यक्ष महर्जनले भाषा, कला, साहित्यको संरक्षणका लागि भावी पुस्तामा यसको हस्तान्तरण हुनुपर्ने र यसैको प्रयास स्वरुप यो प्रतियोगीता भएको बताए ।
प्रमुख निर्णायक रमेशकाजी स्थापितले निर्णय प्रक्रियाबारे जानकारी दिँदै विजयी विद्यार्थीहरुको नाम घोषणा गरेका थिए । निर्णायक मण्डलकी सदस्य पूर्णिमा डंगोलले वरिष्ठ बाल साहित्यकार मानन्धरको जीवनीमाथि प्रकाश पारिन् ।
प्रतियोगिताबारे कार्यक्रम संयोजक तथा वडा सदस्य सुरेश मानन्धरले जानकारी गराए ।
प्रतियोगीतामा कक्षा ६, ७ र कक्षा ८, ९ गरी दुई समूहमा भएको प्रतियोगितामा कक्षा ८–९ तर्फ निबन्धमा फ्युचरस्टार इंग्लिस सेकेन्डरी स्कूल, कक्षा ८ का श्रेया पराजुली प्रथम भइन् ।
त्यस्तै विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय कक्षा ९ की प्रकृति चौहान द्वितीय, श्री रत्नराज्य मावि, कक्षा ८ की सम्पदा थापा तृतीय भइन् भने जगतसुन्दर ब्वनेकुथि, कक्षा ९ की कजना श्रेष्ठले सान्त्वना पुरस्कार जितिन् ।
त्यस्तै कवितातर्फ ज्ञानोदय मावि, कक्षा ८ का सद्भाव ज्ञवाली प्रथम, कक्षा ९ का अनिश विष्ट द्वितीय, श्री महांकाल मावि कक्षा ९ का अंजली गुप्ता तृतीय भइन् भने शान्ति निकुञ्ज मावि, कक्षा ९ की सविना न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गरे ।
कक्षा ६–७ तर्फ निबन्धमा श्री महांकाल मावि कक्षा ७ की सपना श्रेष्ठ प्रथम, नेपाल युवक स्कुल कक्षा ६ की आएशा खातुन द्वितीय, कन्या मन्दिर मावि, कक्षा ७ की करुणा नेपाल तृतीय र श्री जनकल्याण मावि कक्षा ६ का युवराज शाहले सात्वना पुरस्कार हात पारे ।
कवितातर्फ जगतसुन्दर ब्वनेकुथि कक्षा ६ की निभा श्रेष्ठ प्रथम, श्री रत्नराज्य मावि कक्षा ७ का हिरा कुँवर द्वितीय, कंकेश्वरी आधारभूत विद्यालय कक्षा ७ का बिल्कस खातुन तृतीय र शान्ति निकुञ्ज मावि कक्षा ६ की सुष्मा माझीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता कक्षा ६ र ७ तर्फ नेपालभाषामा र कक्षा ८ र ९ तर्फ नेपाली भाषामा भएको हो ।
Categorized in स्थानीय