कोहलीको कीर्तिमानसँगै भारत १२ बर्षपछि विश्वकप फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक ३०, बिहिबार

आयोजक भारत आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार न्युजिल्याण्डलाई हराउँदै भारत उपाधि नजिक पुगेको हो ।
भारत १२ बर्षपछि पहिलोपटक विश्वकलको फाइनलमा पुगेको हो । पछिल्लो पटक सन् २०११मा भारत क्रिकेट विश्वकपको फाइनलमा पुगेको थियो ।
मुम्बईमा भएको खेलमा भारतले न्युजिल्याण्डमाथि ७० रनको जित निकाल्यो । भारतलाई जिताउने क्रममा विराट कोहलीले कीर्तिमानी ब्याटिंग गरे ।
अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा शतक प्रहार गर्दै सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन् ।
बुधबारको खेलमा भारतका लागि विराटले १ सय १७ रनको शतकिय पारि खेले । यो एकदिवसीय खेलमा ५०औं शतक हो । उनले खेलमा १ सय १३ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।
भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्का हिर्काउँदै १ सय ५ रन जोडे ।
ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन, अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।
बलिङमा न्युजिल्याण्डका टिम साउथीले ३ विकेट र ट्रेन्ट बोल्टले एक विकेट लिए ।
भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो ।
टस हारेर दोस्रो ब्याटिंग गरेको न्युजिल्याण्डका लागि ड्यारल मिचेलले १ सय ३४ रनको शतकीय पारि खेलेपनि टोलीलाई जिताउन सकेन । मिचेलले १ सय १९ बलमा ९ चौक र ७ छक्का प्रहार गरेका थिए ।
यस्तै कप्तान केन विलियमसनले ६९ रनको अर्धशतकीय पारि खेल्दा ग्लेन फिलिपले ४१ रन जोडे । अन्यको ब्याटिंग भने उल्लेखनीय रहेन ।
बलिङमा भारतका मोहमद सामीले ७ विकेट लिए । उनले ९.५ ओभरमा ५७ रन खर्चिए । जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले सम्मान एक एक विकेट लिए ।
भारतले अब उपाधिका लागि आगामी आइतबार अष्ट्रेलिया विरुद्ध साउथ अफ्रिकाका विजेतासँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स