arin enterprises

त्रिभुवन विश्वविद्यालयले पाइरेटेड सफ्टवेयर चलाइरहेकोमा आपत्ती

SamacharDesk – बिराज | २०८० मङ्सिर १, शुक्रबार

साउथवेष्टर्न स्टेट कलेजको आयोजनामा संचालित ९ दिने Workshop on Data Analytics for Research using JAMOVI सम्पन्न भएको छ । एक समारोहको आयोजना गरी कार्यशालाको समापन गरिएको हो ।

कार्यशाला गोष्ठीमा सहभागीहरुले जमोभी र आर जस्ता सर्वत्र निःशुल्क उपलव्ध भएको स्टासटिकल सफ्टवेयर हुँदाहुँदै विश्वविद्यालयले गैरकानूनी रुपमा पाइरेट र क्राएक भर्सन को एसपिएसएस प्रयोगमा ल्याईरहेकोमा आपत्ति जनाएका थिए ।

कार्यशालाका सहभागी डा. ए. के. चौधरीले आर र जमोभी जस्ता सर्वत्र निःशुल्क उपलव्ध भएको सफ्टवेयर छँदाछँदै विश्वविद्यालय जस्तो जिम्मेवार निकायले गैरकानूनी ढंगले क्राएक भर्सन चलाउनु भन्दा लाइसेन्स किनेर उक्त सफ्टवेयर चलाउन सुझाव दिए ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले एसपिएसएसलाई जमोभीले प्रतिस्थापन गर्न व्यवस्थापन विज्ञान विषय समितिको सुझावसहित डीन कार्यालयमा प्रस्ताव ल्याएमा आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यशालाका अर्का सहभागी विद्यावारिधि गर्दै गरेका दिनेशकुमार थापाले आफ्ना अनुभव सुनाउने क्रममा जमोभीको राम्रो पक्ष भनेकै डाटा र आउटपुट एकैचोटी हेर्न पाउने र डाइनामिक आउटपुट भएको प्रसंग सुनाए ।

तथ्यांक शास्त्रमा प्रशिक्षकहरु निर्मल बज्राचार्य र डा. शंकरकुमार श्रेष्ठ, व्यवस्थापन शास्त्रमा डा. गौतम महर्जनको संयोजनले कार्यशाला गोष्ठी सम्पन्न भएको थियो ।

प्रशिक्षक डा. शंकरकुमार श्रेष्ठले नेपाल जस्तो विकासोन्मुख देशमा सफ्टवेयर किनेर चलाउन असहज भएकोले जमोभी र आर जस्ता सर्वत्र निःशुल्क सफ्टवेयरमा बढावा दिनुपर्नेमा जोड दिए ।

अर्का प्रशिक्षक डा. गौतम महर्जनले आफु व्यवस्थापन शास्त्रको विद्यार्थी भएपनि तथ्यांक शास्त्रको सफ्टवेयर प्रयोग गरेर आफुले जानेका कुरा शेयर गर्न पाएकोमा खुसी व्यक्त गरे ।

आयोजक कलेजका भाइस प्रिन्सिपल हरि सिं के.सी.ले राज्यले अनुसन्धान कार्यमा १.५ प्रतिशत मात्र बजेट छुट्याएकोमा दुखेसो पोखे ।

समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. शर्माले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Categorized in समाज