arin enterprises

आज विश्व एड्स दिवस

SamacharDesk | २०८१ मङ्सिर १६, आइतबार

‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस मनाइँदैछ ।

एड्सका बारे चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रमहरु गरिंदैछ ।

केन्द्रका अनुसार सन् २०१० यता विश्वमा एचआइभी संक्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या आधाले घटेको छ । एचआइभी संक्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा नेपाल पनि एक हो ।

यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ ।  सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा कामदार नेपालीमा शुन्य दशमलव दुई प्रतिशत सङ्क्रमण रहेको पाइएको छ ।

नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१/२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पत्ती एवं जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम तथा सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ ।

Categorized in राष्ट्रिय