विश्व वातावरण दिवस : "प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौ"
SamacharDesk – Ram Dangol | २०८० जेठ २२, सोमबार

‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।
विश्व वातावरण दिवस मनाइरहँदा नेपालमा नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।
तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ ।
वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ ।
योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।
हरेक वर्ष नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइन्छ । तर वातावरण दिवसको मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।
काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ । कागज र कम्प्युटर हैन वास्तविकतामै जनावर र जङ्गल देख्ने अवस्था रहोस् । मानिस लगायत अन्य जनावर अनि उनीहरूसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् । घडेरी र खेत दुवै महत्त्वपूर्ण छन् ।
जीवन र प्रकृतिबिचको सम्बन्ध सबैले बु्mनु नै वातावरण दिवसका मूल ध्येय हो । यी कुराहरुलाई मनन गरी वातावरण दिवस मनाइयो भने मात्र हरेक वर्ष विश्व वातावरण दिवसको अर्थ रहन्छ ।
अन्यथा मे ५ का दिन एक दिन मात्र विश्व वातावरण मनाउनु कर्मकाण्डी सिवाय अरु केही नहुने स्पष्ट छ ।
Categorized in राष्ट्रिय