२८औं विश्व आदिवासी दिवस मनाईंदै
SamacharDesk | २०७९ श्रावण २४, मंगलबार

२८औं विश्व आदिवासी दिवस आज नेपाललगायत विश्वभरी विविध कार्यक्रम गरी मनाईंदैछ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।
प्रत्येक वर्षको ९ अगष्तमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषण गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन्। संयुक्त राष्ट्रसघंको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र सर्ंवर्द्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णय गरेको थियो।
आदिवासी जनजाति विश्वमा करिब तीन सय करोड आदिवासी जनजातिको जनसंख्या छ भने एसियामा जनसंख्याको ७५ प्रतिशत जनजाति बसोबास गर्दछन्। आदिवासीको परिभाषा सर्न्दर्भमा भ्रम र केही विवाद छ। हामीकहाँ प्रयोग हुने ‘आदिवासी’ शब्दको शाब्दिक अर्थ अनुसार कुनै स्थान विशेषमा सबैभन्दा पहिले बसोवास गरी आएका जातिको समूहलाई बुझाउँछ।
संयुक्त राष्ट्रसंघले गरेको परिभाषा अनुसार आदिवासी भन्नाले त्यही ठाउँका रैथाने भन्ने बुझिन्छ। नेपालको सर्न्दर्भमा सबै जनजाति आदिवासीको परिभाषाभित्र पर्दछन् तर सबै आदिवासीहरू जनजाति होइनन्।
नेपालमा जनजाति शब्दलाई भ्रम र अन्यौलको रुपमा व्याख्या गरिएको छ। नेपालमा जातीय समस्याको मूल कारण यहाँको एकल जातीय राष्ट्र, एकल भाषा, एकल संस्कृति र राज्यका हरेक निकायमा एकल समूहको हालीमुहाली नै हो। राष्ट्र बहुजातीय, बहुभाषिक बहुधार्मिक बहुसाँस्कुतिक विशेषतायुक्त छ तर राज्यको स्वरुप एकल जातीय छ।
अहिले पनि राज्यका निकायमा ८६ प्रतिशत मुख्य व्यक्ति एउटा जातका मात्र छन्। लोकतान्त्रिक राज्यको चरित्र भनेको पछाडि परेकारपारिएका जातजाति, क्षेत्र लिंग वा समुदायलाई अगाडि ल्याउनु हो।
हाम्रो समाजमा जातीय समस्याको विजारोपण शासन सत्तामा सदियौंदेखि एकाधिकार कायम गर्नेहरूले नै गरे। फलतः यहाँ वर्गीय होइन, जातीय अन्तरविरोध नै प्रधान अन्तरविरोधको रुपमा चर्को गरी उठेको छ।
एउटा साम्प्रदायले अर्को साम्प्रदायलाई जन्म दिएको छ। एकल समुदायको भाषा, धर्म, संस्कृति, रीतिरिवाजलाई समग्र राष्ट्रको पहिचान हो भनेर मानी दिँदा नेपालमा जातीय समस्या झन् बल्झेको छ। टोपीमात्र नेपाली राष्ट्रियता हो धोती होइन भन्ने अनि धोतीमात्र हाम्रो राष्ट्रियता हो टोपी होइन भन्ने दुबै प्रकृतिले हामीकहाँ जातीय द्वन्द्व सिर्जना गरेका छन्।
नेपाली राजनीतिमा सबैभन्दा बढी प्रयोग भएको शब्द पहिचान हो। यसैबारे बढी विवाद भएर पार्टी फुट्नेसम्म भयो। नेपालमा बसोबास गर्ने सबै नागरिकको समष्टिरुपमा पहिचान झल्कनु पर्छ।
एउटा जातिले अर्को जातिको पहिचानलाई निषेध गरेर एकाधिकारलाई यथावत कायम गराउन खोज्दा नेपालमा हिंसा र द्वन्द्व मौलाएको छ। आदिवासी जनजातिले यसैमा चित्त दुखाएका छन्। यहाँ सबै जातजाति, भाषा धर्म, क्षेत्र संस्कृतिको आफ्नो छुट्टाछ्टै पहिचान छ।
यो नै हामी नेपालीको सबैभन्दा महत्वपूर्ण सामाजिक पुँजी र सुन्दरता हो।
Categorized in राष्ट्रिय