आज विश्व खेलकुद पत्रकारिता दिवस
SamacharDesk – राम डंगोल | २०७९ आषाढ १८, शनिबार

हरेक वर्षको जुलाई २ तारिकलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल लगायत विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो ।
गएको वर्ष कोरोना महामारीका कारण यो दिवस नमनाईए पनि यो वर्ष भने विशेष कार्यक्रम गरी मनाईंदैछ । विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको ९५औँ वर्षको अवसरमा विश्व खेलकुद दिवस संसाभर मनाइँदै आएको छ ।
यो दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । नेपाल सन् २००६ मा एआइपिएसको सदस्य बनेको थियो । नेपालमा ठूला खालका खेलकुद गतिविधि धेरै हुन नसकेकै कारण खेलकुद पत्रकारिता पनि सोचेजस्तो रुपमा अगाडि बढ्न नसकेको सरोकारवालाहरुको भनाइ छ ।
अहिले हरेक संचार गृहमा स्पोर्ट्स एउटा अपरिहार्य विट बनिसकेको छ । खेलकुदका समाचार बिना कुनै पनि संचारगृहबाट प्रसारण वा प्रकाशन हुने समाचार पूर्ण हुँदैनन् ।
खेलकुद पत्रकारितामै डेढ दशकभन्दा बढि समयदेखि सक्रिय रहँदै आउनुभएका तथा नेपाल खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष, निरन्जन अधिकारीका अनुसार पछिल्लो दुई दशकमा नेपालले पनि खेल पत्रकारितामा निकै फड्को मारेको बताउनुहुन्छ ।
उहाँका अनुसार “नेपालमा पछिल्लो दुई दशकमा नेपाली खेल पत्रकारिता निकै विस्तार भएको छ । दैनिक पत्रिकाहरुको अन्तिम पृष्ठमा सानो ठाउँ पाउने खेलकुदका खबरहरु अहिले आएर उचित स्थान पाएका छन् ।” अधिकारी बताउनुहुन्छ, “पछिल्लो दशक त खेलकुद कै अनलाईन पोर्टलहरु अधिक संख्यामा खुलेका छन् र यस क्षेत्रले पनि व्यावसायिक रुपमै चल्न थालेका छन् ।”
उहाँका अनुसार पत्रकारिताको एउटा विधाबाट खेलकुद आफैमा मूलधारमा परिणत भएको बताउनु हुन्छ । उहाँका अनुसार, “नेपाली संचार उद्योगलाई माथि उकास्न नसक्दा त्यस्को असर खेल पत्रकारितामा पनि परेको छ ।
अझ कोभिड महामारीबाट विश्व अर्थतन्त्रमा आर्थिक मन्दीको प्रभाव खेल पत्रकारितामा पनि परेको छ । महामारीको बहानामा विश्वभर समाचारको स्रोतमाथिको पहुँच घटेको छ । ठूला क्लब तथा प्रतियोगिताका आफ्नै सोसियल पेज तथा स्ट्रिमिङहरुले मूलधारको पत्रकारितामा चुनौति थपेको छ” उहाँ बताउनुहुन्छ ।
यसरी विगतका दिनमा खेलकुदलाई एउटा सिङ्गो विटको रुपमा लिइन्थ्यो भने हाल आएर खेलकुदभित्र पनि फुटबल बिट, क्रिकेट बिट् तथा अन्य विटहरु छुट्याएर पनि विकास हुनथालेको छ ।
खेलकुदलाई संचारगृह तथा प्रकाशनमा एउटा पाना भर्ने वा कम महत्वमा राखिने विटलाई अहिले आएर मूलधारमा ल्याएको देखिन्छ । अझ खेलकुद सम्बन्धी छुट्टै च्यानल, पत्रपत्रिका, तथा अनलाईनहरु खोलिनुले पनि यस क्षेत्रमा विकास भएको मान्न सकिन्छ ।
जेहोस् खेलकुदलाई विभिन्न समस्याकाबीच नेपालको खेलकुद पत्रकारिताले खुड्किलाहरु चढ्दै उँभो लाग्नु सन्तोषजक नै मान्न सकिन्छ ।
Categorized in राष्ट्रिय