आज ७१औं विश्व कुष्ठरोग दिवस
SamacharDesk – Ram Dangol | २०८० माघ १४, आइतबार

आज एकहत्तरौँ विश्व कुष्ठरोग दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाईंदैछ ।
कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ ।
नेपालमा हाल २ हजार ५ सय २२ कुष्ठरोगीका विरामी रहेको स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कुष्ठरोगका विरामीहरु सबैभन्दा धेरै मधेश प्रदेशमा रहेको जनाएको छ । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी छन् ।
यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।
कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ ।
नर्वेका डाक्टररवैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो ।
यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए । नेपालमा यो रोगलाई अझै पनि पुराना पुस्ताका मानिसहरु श्रापका रुपमा नै हेर्छन् ।
उतिबेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन ।
तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगकाविरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई पनि छ ।
त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारीस्तबाटै जनचेतनामूलक कार्यक्रमहरु गर्न जरुरी छ ।
Categorized in राष्ट्रिय