arin enterprises

छैठौं वर्ल्ड नेवाः दिवस मनाइयो

SamacharDesk – Ram Dangol | २०७९ चैत्र १२, आइतबार

विश्वका विभिन्न कुनामा बसोबास गरिरहेका नेवाः समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले विश्वभर विविध कार्यक्रम गरी हिजो शनिबार छैठौं वर्ल्ड नेवाः दिवस मनाएको छ ।

सोही अवसरमा नेपालमा पनि वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले हिजो वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । हरेक वर्ष मार्चको अन्तिम शनिबारको दिन विश्व नेवाः दिवस मनाउँदै आएको छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो ।

यसै अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ ।

उहाँले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले नेवार समूदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदाय भित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो ।

उहाँले उत्पीडित जाति र समूदायको उत्थानका लागि संविधान संशोधन गर्दै अघि बढनुपर्ने पनि दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउनका लागि यही बसन्तपुर डबलीबाट घोषणा गरेको थिए । र, नेवारहरुको सभ्यता, इतिहास र संस्कृतिको अनुसन्धान गर्न एउटा अनुसन्धान समिति वा अनुसन्धान प्रतिष्ठान बनाउन जरुरी छ भन्ने सुझाव यहाँ आएको छ ।

यसमा मेरो ध्यान गम्भिर रुपले आकर्षित भएको छ । नेपालको सभ्यता, संस्कृति र इतिहास, भाषा, साहित्य र कलाको निम्ति नेवारहरुले गरेको अनवरत संघर्षप्रति मेरो उच्च सम्मान रहेको छ । त्यसकारण म एउटा कुनै अध्ययन प्रतिष्ठान बनाउने कुरामा तपाईहरुको अगाडि प्रतिवद्धता व्यक्त गर्दछु ।

र, त्यो नेवारको मात्रै हुनेछैन । त्यो नेपालीहरुकै हुनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु । विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि पर्दछ । यो हामी सबैका लागि गर्वको विषय हो ।’

त्यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली समाजलाई रुपान्तरण गर्न नेपालको भाषा, संस्कृतिमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेसया नेता प्रकाशमान सिंहले नेपाललाई विश्वभर चिनाउन नेवाः सभ्यता र कलाले ठूलो योगदान दिइरहेको बताउनुभयो । उहाँले नेवाः सभ्यतालाई इतिहासमा मात्र सीमित नराखी थप अध्ययन गरी परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कला, संस्कृति, भाषा संरक्षणमा विशिष्ट योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गरियो ।

प्रधानमन्त्री दाहाले जनकवि दुर्गालाल श्रेष्ठ, इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धर, पूर्वराजदूत केदारभक्त माथेमा, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगी रुपज्योति कंसाकार, नेपालको पहिलो चलचित्र ‘आमा’मा आमाको भूमिका निभाउने अभिनेत्री चैत्यदेवी सिंह तगा वरिष्ठ साहित्यकार, पत्रकारलगायत कलाकारहरुलाई सम्मान गरेको थियो ।

Categorized in राष्ट्रिय