arin enterprises

“विश्व नेवाः दिवस” विभिन्न कार्यक्रम गरी मनाइयो

SamacharDesk – राम डंगोल | २०८० चैत्र १७, शनिबार

विश्वभर छरिएर रहेका नेवाःहरुको साझा दिनको रुपमा आज सातौं “विश्व नेवाः दिवस” भव्यताका साथ मनाइयो ।

हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । “विश्व नेवाः दिवस” यो वर्ष ललितपुरको केशवनारायण चोकमा विशेष कार्यक्रम गरी मनाइयो ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रूपमा मनाइन्छ ।

विश्वमा छरिएर रहेको नेवार समुदायको छाता संगठन हलिं नेवाः दबू (वर्ल्ड नेवाः अर्गनाइजेसन) को आयोजनामा विश्व नेवाः दिवस मनाइएको छ । आजको दिन नेपालमा मात्र नभई विश्वभरका नेवाः समुदायहरुल विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्दछन् ।

यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो ।

यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।

ललितपुरमा आज आयोजित कार्यक्रम नेवाः राष्ट्रिय गीतबाट सुरुवात भएको थियो । मुख्य अतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

हलिं नेवाः दबु नेपाल च्याप्टरका का.मु सचिव कस्तुरी श्रेष्ठले स्वागत मन्तव्य राख्दै विश्वभर रहेको नेवाःहरुले आजैको दिन समयानुकूल रुपमा वल्र्ड नेवाः डे मनाउने बताउनुभयो । उहाँले नेपालमा सन् २०१६ मा आजको दिनलाई पूर्व मेयर विद्यासुन्दर शाक्यको आतिथ्यमा ठूला सम्मेलन नै गरी मार्च महिना ३० तारिख तथा अन्तिम शनिबार नै मनाउने भनेर दिन निर्धारण गरेअनुरुप आजसम्म ७औं  “विश्व नेवाः दिवस” मनाइरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा भाषा, साहित्य, जातिय, सांस्कृतिक क्षेत्रमा आफ्नो जीवन समर्पित गर्नुभएका व्यक्तित्वहरुलाई सम्मान गरियो । भाषातर्फबाट वरिष्ठ भाषासेवी राजा शाक्यलाई सम्मान गरिएको थियो । वरिष्ठ साहित्यकार सुवर्ण शाक्यलाई साहित्यततर्फर्बाट सम्मान गरियो ।

चित्रकलातर्फबाट वरिष्ठ चित्रकार किरण मानन्धर, खेलकुदतर्फ भारत्तोलनका महेश्वर महर्जनलाई, स्वास्थ्यतर्फ नेपालमै पहिलो किड्नी ट्रान्सफर गर्ने व्यक्ति डा. पुकार चन्द्र श्रेष्ठ, महिला उद्यमी सुसन कर्माचार्य, पर्यटनतर्फ अजय स्थापित, वरिष्ठ इतिहासविद् योगेन्द्रमान श्रेष्ठ, इतिहासतर्फबाट सम्मान गरिएको थियो ।

उहाँहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै कलाकारतर्फबाट वरिष्ठ कलाकार एवं निर्देशक पवन जोशी, समाजसेवीतर्फबाट निलकाजी कसाः, वरिष्ठ पत्रकार सुरेश किरण, अन्तर्राष्ट्रिय संस्थामा नेपाः पासा पुचः अमेरिकालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा काठमाडौं बाहिर बसेर पनि नेवाः संस्कृति, भाषामा योगदान पु¥याउने झि पुचः विराटनगरलाई सम्मान गरिएको थियो । प्रशासन क्षेत्रतर्फबाट पूर्वमन्त्री तथा आइजीपी धु्रवबहादुर प्रधानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मुख्य अतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, “आआफ्नो भाषा भनेको सबैलाई मनपर्छ, मलाई पनि मन पर्छ, आफ्नो भाषा संसारभर प्रचार भए कति हुन्छ जस्तो लाग्छ, आजको यस भाषा सम्बन्धी कार्यक्रमलाई मलाई पुरानो कुराको याद दिलायो, पहिला जिवन डंगोलको नेपालभाषाको कार्यक्रम धेरै रमाइलो हुन्थ्यो, उहाँकै गीतबाट दशैं आयो, तिहार आयो, गुँला आयो भनेर थाहा हुन्थ्यो तर त्यो कार्यक्रम बन्द भएपछि सबै नेवारहरुको मन दुख्यो र ठाउँठाउँमा कोणसभा गर्ने, साहित्य सम्मेलन हुन थाल्यो ।"

"यसैक्रममा हामी केही साथीहरु मिलेर मुनासः गठन गरियो । त्यसबाट गाइजात्रा कार्यक्रम तथा प्रतियोगिताहरु गर्न थालें । त्यसपश्चात रेडियो, टिभी हुँदै अहिले युट्युवमार्फत नेवाःहरुको भाषा साहित्यको प्रचारप्रसार संसारभर भइरहेको छ ।” उहाँले बताउनुभयो ।

उहाँले वल्र्ड नेवाः अर्गनाइजेसन संसारभरका नेवाःहरुलाई एक ढिक्का बनाउने एउटा मञ्चको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा हलिं नेवाः अर्गनाइजेसन नेवाः च्याप्टरकार अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले सन् २०१८ सालमा नेपाल ग्लोबल कन्फरेन्स गरेर हलिं नेवाः दिवस संसारभर आजकै दिन मनाउन सुरु गरेको स्मरण गर्नुभयो ।

सन् २०११ मा लण्डनमा डा. बाल गोपालको नेतृत्वमा सुरु भएको यस अर्गनाइजेसनले सातौं वर्ष आइपुग्दा २० भन्दा बढी राष्ट्रमा बसोबास गर्ने नेवाः दाजुभाइहरुलाई एकत्रित गरेको बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा एकत्रित मात्र गर्ने काम नगरी आगामी दिनहरुमा नेपालका नेवाःहरुको उत्थान हुने हिसाबले ठूलठूला आयोजनाहरुमा लगानी भित्र्याउने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा लोककवि राजभाइ जकःमिको रचना जुगल डंगोलको संगीत रहेको विश्व नेवाः गीतको पनि विमोच गरिएको थियो । त्यस्तै दयारत्न शाक्यद्वारा लिखित नेवारलोजी मेट्रेस नामक भाषाविज्ञान सम्बन्धी पुस्तकको पनि विमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना समेत गरिएको थियो ।

Categorized in राष्ट्रिय