विश्व नेवाः दिवसकाे कार्यक्रम स्थगित
SamacharDesk – बिराज | २०८१ चैत्र १६, आइतबार

तीनकुने घटनाका कारण विश्व नेवाः दिवस प्रभावित गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा भएको घटनाका कारण विश्व नेवाः दिवस प्रभावित भएको छ ।
राजवादीहरुको प्रदर्शन हिंसात्मक बन्न पुगेपछि उक्त क्षेत्रमा लागेको कर्फ्यू र घटना दुई व्यक्तिको ज्यान समेत गएको कारणले चैत्र १६ गते शनिवारका लागि तय गरिएको विश्व नेवाः दिवसको कार्यक्रम स्थगित गर्नुपरेको छ ।
विश्व नेवाः संगठनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारलाई विश्व नेवाः दिवसको रुपमा मनाउँदै आएको छ ।
यसै क्रममा संगठनको नेपाल च्याप्टरले गत शनिवार भक्तपुरको दरवार क्षेत्रमा दिवसको कार्यक्रम तय गरेको थियो ।
तर शुक्रवार तीनकुनेमा राजावादीहरुको प्रदर्शन निकै हिंसात्मक बन्दै संचारकर्मी सुरेश रजक र सविन महर्जनको ज्यान गएपछि विश्व नेवाः संगठन नेपाल च्याप्टरले कार्यक्रम स्थगन गरेको हो ।
च्याप्टरले विज्ञप्ती जारी गर्दै हालको कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । अराजक गतिविधि भइरहेको समयमा कार्यक्रममा घुसपैठ हुनसक्ने सम्भावनालाई समेत मध्यनजगर गर्दै कार्यक्रम स्थगित गरिएको च्याप्टरले जनाएको छ ।
‘पछिल्लो समय सुरक्षा अवस्थासमेत नाजुक बन्न गएकोले हाम्रो सांस्कृतिक सम्पदा क्षेत्रमा कुनै किसिमले घुसपैठ भई सम्पदामा नै असर पर्नसक्ने सम्भावनालाई गम्भीर मनन गर्दै यस वर्ष विश्व नेवाः दिवसको विशेष कार्यक्रम स्थगित गरिएको छ’ विज्ञप्तीमा लेखिएको छ ।
विज्ञप्तमार्फत च्याप्टरले संचारकर्मी रजक र कीर्तिपुरका महर्जनको निधनप्रति शोक पनि पोखेको छ ।
‘हिजो राजावादीहरुले गरेको आन्दोलनले अराजक रुप लिइ हिंसात्मक र लूटको घटना हुन गएको र त्यस घटनामा आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका नेवाः पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको दुःख हामी सबै नेवारलाई लागेको छ’ विज्ञप्तीमा लेखिएको छ ।
सोही विज्ञप्तीमार्फत च्याप्टरले घटनाको निष्पक्ष छानविन गर्दै दोषीलाई कडा कानुनी कारवाही गर्न सरकार समक्ष जोडदार माग समेत गरेको छ ।
