वर्ल्ड नेवाः गुथीको १५औं साधारणसभा सम्पन्न
SamacharDesk – समाचारडेस्क | २०८० चैत्र ४, आइतबार

वर्ल्ड नेवाः गुथीले आफ्नो १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
यो वर्ष ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृति दृष्टिले महत्वपूर्ण नगरी मकवानपुरको थाहा नगरपालिका अवस्थित पालुङमा सम्पन्न गरेको हो ।
ऐतिहासिक नगरी पालुङको मूर्त र अमूर्त सम्पदालाई पर्यटनसँग जोड्ने उद्देश्यले यो वर्ष पालुङमा कार्यक्रम आयोजना गरेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा होली महोत्सव र थाहा पर्यटन प्रवद्र्धन अभियानको थालनी विषयमा अवगत गराइएको थियो । पालुङ सयौं वर्षअघि दक्षिण भेग तथा भारत जाने प्रमुख नाकाको रुपमा लिइन्थ्यो । टिष्टुङ् पालुङमा राजा मानदेवले वस्ती बसालेको अहिलेसम्म पनि शिलालेखहरु भेटिन्छन् ।
इन्द्रसरोवर, पालुङ भ्यू प्वाइन्ट क्षेत्र, बाराही अजिमा मन्दिर, मल्लकालिन कोट दरबारको भग्नावशेष, नेपालकै पहिलो राजवंश गोपाल राजवंशको सन्ततीहरु गोपाली जातिको बसोबास रहेको क्षेत्र भएकोले पालुङ पर्यटनको प्रचुर सम्भावना बोेकेको स्थान हो ।
कार्यक्रममा थाहा नगरपालिकाभित्रको नेवार बस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गराउने विषयमा थालिएको तयारी विषयमा छलफल भएको थियो ।
सो अवसरमा समाजसेवी, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
शनिबार सम्पन्ने कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, हलिं नेवाः गुठीका केन्द्रीय अध्यक्ष विनोद महर्जन, थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्ट, नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, सल्लाहकार श्रीकृष्ण महर्जन लगायतको सहभागिता थियो ।
Categorized in समाज