arin enterprises

आज विश्व प्रेस स्वतन्त्रता दिवस

SamacharDesk – विराजकाजी राजोपाध्याय | २०७७ बैशाख २१, आइतबार

आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

आजको दिन विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै, प्रेस स्वतन्त्रताको लागि संघर्ष गरेका, योगदान दिएका पत्रकारहरुलाई सम्झिँदैछन् ।

यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । 

विगतका वर्षहरुमा विभिन्न औपचारिक कार्यक्रम गरी मनाइने यो दिवसमा कोरोना महामारीका कारण यस वर्ष भनृ कुनै औपचारिक कार्यक्रम भएको छैन ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ को दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।

सन् १९९१ मे ३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । 

सोही दिनको सम्झनामा १९९३ को डिसेम्वर २० मा संयुक्त राष्ट्र संघको साधारण सभाको निर्णय अनुसार प्रत्येक वर्ष को मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रेस स्वतन्त्रताको अधिकारलाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रको अनुच्छेद १९ अन्तर्गत समाहित गरिएको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवस मनाउनुका मुख्य चार वटा उद्देश्य राखिएको छन् । ती उद्देश्यमा प्रेस स्वतन्त्रताको मौलिक सिद्धान्त स्थापनाको वर्षगाँठ मनाउने, पेशागत अभ्यासमा ज्यान गुमाएका विश्वभरका पत्रकारहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने रहेका छन् ।

त्यसैगरी प्रेस स्वतन्त्रताको विश्वव्यापी मूल्याङ्कन र प्रेस स्वतन्त्रतामा हुने हमलाबाट मिडियाको बचावट पनि यो दिवस मनाउनुको उद्देश्य रहेको छ ।

नेपाली प्रेस जगतको ईतिहासको कुरा गर्नुपर्दा गोरखापत्र नै पहिलो समाचार मुलक पत्रिकाको रुपमा देखिन आउँछ ।

राणा प्रधानमन्त्री देव शमशेरले वि.स. १९५८ वैशाख २४ गतेबाट गोरखापत्र प्रकाशनको सुरुवात गरेका थिए । 

शुरुमा साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन भएको गोरखापत्र २०१७ सालमा मात्रै दैनिक रुपमा प्रकाशन हुन थालेको हो ।

नेपालको पहिलो दैनिक पत्रिकाको नाम लिनुपर्दा २०१२ सालमा प्रकाशित ‘आवाज’ दैनिकको नाम आउँछ ।

संगठनको सवालमा २०१२ सालमा पहिलो पटक पत्रकारहरु संगठित भए । प्रेस स्वतन्त्रताको आवाज उठाउँदै सत्यनारायण बहादुर श्रेष्ठको अध्यक्षतमा नेपाल पत्रकार संघको गठन भयो । 

पञ्चायती निरंकुशताको अवस्थामा स्वतन्त्र प्रेसको पक्षमा कलम चलाउदै आएको सोही संघ २०५३ सालमा आएर नेपाल पत्रकार महासंघमा परिणत भएको हो । 

स्थापनाकालदेखि नै नेपाल पत्रकार महासंघले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतको पक्षमा आवाज बुलन्द गर्दै आएको छ ।

नेपालमा २०४६ साल पछिको संविधानले संवैधानिक रुपमै प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्दै आएको छ । 

२०६२-६३ को जन आन्दोलनको उपलब्धी स्वरुप प्राप्त नेपाली जनताले लेखेको २०७२ सालको नेपालको संविधानले पनि प्रेस स्वतन्त्रताको वकालत गरेको छ ।

नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् ।

यसो भन्दै गर्दा विभिन्न राजनैतीक घटनाक्रममा नेपालको प्रेस जगतले ठुलै सास्ती खेप्नु पनि परेको छ ।

२००७ साल अघि पनि विभिन्न लेख लेखेकै आधारमा, पत्रिका प्रकाशन गरेकै आधारमा दण्डित हुनुपरेको ईतिहास छ ।

२०४६ सालमा पनि समाचार लेखेकै आधारमा कैयन पत्रकारहरु थुनामा परे । माओवादी द्वन्दकालमा त समाचार लेखिएकै भरमा राज्य र तत्कालिन विद्रोही पक्षको चेपुवामै पर्यो । 

२०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि पनि प्रेसलाई कुण्ठित गर्ने काम भयो । तत्कालीन समयमा विभिन्न एफ. एम. स्टेशनहरुमा सेनाकै कब्जामा रहन गएको थियो ।

जन आन्दोलन, २०६२-६३ सालको आन्दोलनमा पनि नेपाली प्रेस जगतले विभिन्न वहानामा दण्ड जरीवाना खेप्नुपरेको थियो । 

रिपोर्टर विदाउट बोर्डरले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२औं  स्थानमा रहेको देखाएको छ । 

गत वर्ष नेपाल १०६औँ स्थानमा थियो । दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ ।

Categorized in राष्ट्रिय