arin enterprises

विश्वभरी खेलकुद पत्रकार दिवस मनाईँदै

SamacharDesk – बिकाश | २०७७ आषाढ १८, बिहिबार

जुलाई २ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । हरेक वर्ष यो दिन विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।

हरेक वर्ष झैं यस वर्ष पनि विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । तर यो वर्षको प्रसङ्ग भने फरक छ । विगतमा विभिन्न औपचारिक कार्यक्रम गरी मनाइने यो दिवसलाई पनि यसपालि कोरोना महामारीले प्रभावित बनाएको छ ।

यद्यपि आज नेपाल खेलकुद पत्रकार मञ्चले यसै दिवसको अवसरमा खेलकुद पत्रकार र संचार गृह संचालकहरुबीच अन्तरक्रिया कार्यक्रम भने आयोजना गर्दैछ ।

सम्पूर्ण विश्व अनि विश्वभरिका खेल जगत नै महामारीबाट प्रभावित रहेको यो समयमा खेलकुद पत्रकारिता मात्र प्रभावित नहुने कुरै रहेन ।

खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९२४ मा बेलायतमा अन्तराष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिस) स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

संघ स्थापनाको पनि यस वर्ष ९६ वर्ष भएको छ । पेरिसमा सम्पन्न भएको ओलम्पिकको अवसरमा एकै थलोमा भेला भएका खेल पत्रकारहरू मिलेर ९६ वर्षअघि एआइपीएसको स्थापना गरेका थिए ।

नेपालले सन २००६ मा एआइपिएसको सदस्यता लिएको थियो ।

अहिले हरेक संचार गृहमा स्पोर्ट्स एउटा अपरिहार्य विट बनिसकेको छ । खेलकुदका समाचार विना कुनै पनि संचार गृहबाट प्रसारण वा प्रकाशन हुने समाचार पूर्ण हुँदैनन् ।

खेलकुद पत्रकारितामै एक दशक बढि समयदेखि सक्रिय रहेका गोरखापत्र दैनिकका खेलकुद पत्रकार पत्रकार प्रजित शाक्यले विगतको तुलनामा नेपालमा खेलकुद पत्रकारिताको राम्रो विकास भएको भन्नुहुन्छ ।

‘विगतमा निकै थोरै संख्यामा मात्र खेलकुद पत्रकारहरु थिए । अहिले संचारमाध्यमको विकास र संचार गृहको संख्या वृद्धि भएसँगै खेलकुद पत्रकारहरु पनि धेरै संख्यामा देखिन थालेका छन्,’ शाक्य भन्छन । ‘तर विवरणात्मक भन्दा विश्लेषणात्मक समाचार लेखनमा जोड दिने भने थोरै छन् ।’

विगतका दिनमा खेलकुदलाई एउटा सिङ्गो विटको रुपमा लिइन्थ्यो भने हाल आएर खेलकुद भित्र पनि फुटबल बिट, क्रिकेट बिट् आदि पनि विकास हुन थालेको छ ।

प्राय समाचार गृहका समाचार सम्पादकहरुमा खेलकुदको प्राविधिक ज्ञानको कमी हुने भएकाले न्यूज एङ्गलमा छलफल, खेलकुद सम्वन्धी समाचारहरुमा विचार विमर्श पनि थोरै हुने गरेको शाक्य सुनाउँछन् ।

कान्तिपुरका दैनिकका सहायक सम्पादक साथै खेलकुद पत्रकारितामा विशेष गरी फुटबलमा कलम चलाउने हिमेशरत्न बज्राचार्यले पनि विगतको तुलनामा विकास भएपनि यहाँ अझै पनि धेरै चुनौतीहरु विद्यमान रहेको बताउँछन् ।

‘हरेक मिडिया हाउसको लागि खेलकुद नभइ नहुने विट त बन्यो, तर पनि नेपालको पत्रकारिता राजनीतिमा बढि केन्द्रित रहँदा खेलकुद क्षेत्रका समाचारहरु छायाँमा पर्ने गर्छन्,’ बज्राचार्यले भने ।

कुनै खेलकुदकै कार्यक्रम हुँदा पनि खेलको भन्दा प्रमुख अतिथी बनेर आउने नेताका भनाईहरुले समाचार प्राथमिकता पाइरहेका हुन्छन् । 

नेपालमा ठुला खालका खेलकुद गतिविधिहरु निकै थोरै मात्र हुने गरेका छन् । ठुलठुला खेल गतिविधिहरु निकै कम आयोजना हुने भएकोले पनि यहाँ अन्य देशको तुलनामा खेलकुद पत्रकारिताको विकास हुन नसकिरहेको बज्राचार्यको भनाई छ ।

विभिन्न समस्याका बीच नेपालको खेलकुद पत्रकारिताले खुड्किलाहरु चढ्दै उँभो लाग्दैछ । 

खेलकुद पत्रकारितामा समर्पित भई लाग्नेहरुको लागि यो क्षेत्र निकै राम्रो रहेको र यसले अवसरहरुको ढोका पनि खोल्दै जाने भनाई गोरखापत्रका शाक्य र कान्तिपुरका बज्राचार्य दुवैको रहेको छ ।

Categorized in स्पाेर्ट्स