arin enterprises

आज विश्व पर्यटन दिवस

SamacharDesk – Ram Dangol | २०८१ आश्विन ११, शुक्रबार

आज सेप्टेम्बर २७ अर्थात् ४५ औं विश्व पर्यटन दिवस ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित विश्वभर मनाईंदैछ भने नेपालमा ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ ।

नेपालमा दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाई्रदैछ ।

दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ ।

पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिनेछ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिएको छ ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन ९डब्लुटीओ० सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।

दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् ।

विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ ।

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो ।

परम्परागत सांस्कृतिक सम्पदाको सङ्गम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् ।

खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

Categorized in राष्ट्रिय