योद्धाले चिनाएका संगीतक्षेत्रका योद्धा प्रसिद
SamacharDesk – समाचारडेस्क | २०७९ चैत्र २७, सोमबार

आउँदो वैशाख २१ देखि रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ मा समावेश एउटा गीत ‘योद्धा’ केहि दिन अघि मात्र सार्वजनिक भएको थियो ।
युवा गायक प्रसिद राजोपाध्यायले गाएको यो गीत अहिले युवाहरुमाझ निकै लोकप्रिय बनिरहेको छ ।
सानै उमेरदेखि संगीतमा रुचि राख्ने राजोपाध्याय यो गीत गाउन अवसर पाउँदा आफुलाई निकै खुसी लागेको बताउँछन् ।
‘मलाई सानैदेखि गीत गाउन, गीतारको साथै ड्रम बजाउनमा निकै मनलाग्छ । अहिले मैले फिल्मको लागि गीत गाउन पाउँदा मेरो सपना साकार हुन लागेको महशुस गर्दैछु’ राजोपाध्यायले भने ।
हुन तः गायक राजोपाध्यायले यस अघि पनि अन्य गीतहरु गाइसकेका छन् र युट्युबमा उनको निकै राम्रा गीतहरु हेर्न र सुन्न सकिन्छ । तर चलचित्रकै लागि गीतमा आफ्नो स्वर दिन पाउँदा भने राजोपाध्याय निकै उत्साहित भएका छन् ।
अहिलेका चर्चित गायिका त्रिशला गुरुङसँग गाउन पाउँदा खुसी नहुने त कुरै भएन । ड्वेट गीतमा गायक राजोपाध्यायलाई गायिका त्रिशला गुरुङले साथ दिएका छन् । त्यस्तै ‘युनिक पोएट’ उत्साह जोशीले र्याप हानेको पनि मज्जाकै सुनिन्छ ।
आई एम ट्वान्टी वान फिल्मको दोस्रो गीतका रूपमा बजारमा आएको योद्धा गीत ‘द स्याडोज नेपाल’ ब्यान्डका चर्चित गायक स्वप्निल शर्माले लेखेका हुन भने संगीत जिन्दावाद व्याण्डका गायक एवं गीतारिस्ट रोहित शाक्य र स्वप्निल शर्माले दिएका छन् । द वाइल्ड रिपर्ज क्रुले यसको कोरियोग्राफी गरेको हो ।
यो भन्दा अघि २५ बर्षिय राजोपाध्यायले आफैले गीत लेख्ने र त्यसमा आफै संगीत भर्ने गर्थे । उनले कभर गीतहरु पनि थुप्रै गाएका छन् ।
उनले कभर गरेको चर्चित र्यापर एमिनेमको दि रियल स्लिम सेडि निकै चर्चित भएको थियो । च्यानल आर्बिटरी युट्युब च्यानलमा अपलोड भएको यो कभरले एक लाख बढि भ्यूज पाएको छ ।
‘सानैदेखि संगीत क्षेत्रमै केही गरुं भन्ने लक्ष्य लिएर आएको म, आज आएर फिल्मको गीतमा गायकको रुपमा प्रस्तुत हुन पाएँ, यसलाई आफ्नो ठुलो उपलब्धी नै ठान्छु’ उनले भने ।
यो गीत राजोपाध्यायलाई रोहित शाक्य र स्वप्निल शर्माले नै गाउने मौका दिएका हुन् । त्यो बेलामा उनी फुज फ्याक्ट्री प्रोडक्सनमा काम गर्थे ।
नेपालको नाम चलेका संगीतकर्मीहरु रोहित शाक्य र स्वप्निल शर्मा जस्ता व्यक्तिहरुले सँगै कम गर्नको लागि भन्दा आफुलाई निकै रमाइलो लागेको उनी बताउँछन् । त्यही दौरान आफुले धेरै कुराहरु सिक्न पाएको पनि बताउँछन् राजोपाध्याय ।
एउटा संगीतकर्मीलाई नामी संगीतकर्मीहरुबाट साथ र हौसला पाउँदा संगीतकर्मीलाई अरु के नै चाहिन्छ र ?
नेपाली अंग्रेजी दुवैमा गीत गाउने प्रसिदको रिफ्लेक्सन एल्बमको ‘भन न तिमीहरु’, ‘आई विलिभ’ जस्ता गीतहरुले चर्चा कमाएको थियो । त्यस्तै ग्लानी, मनमानी, अनोदर वान विथ पपेट जस्ता गीतहरुले पनि युट्युवमा चर्चा कमाएको छ ।
विभिन्न गीतहरुबाट केही चर्चा कमाइसकेका राजोपाध्यायको चर्चा योद्धा गीतले भने अझ चुलिएको छ ।
‘ काम गर्दै गएँ, केही पाइयो, अझ धेरै गर्न बाँकि छ । चुनौती पनि बढेको छ ।
अबको श्रृजनामा अझ बढि मिहिनेत गर्नेछु, अझ राम्रो गीत दिन प्रयास गर्नेछु’ आत्मविश्वास बढेको अनुभूतिसहित राजोपाध्यायले भने ।
