arin enterprises

नेपाली बृत्तचित्र ‘द योगिनी’को प्रोमो र पोस्टर अष्ट्रेलियामा रिलिज

SamacharDesk – बिराज | २०८० आषाढ १०, आइतबार

काठमाडौंको पुर्वी उत्तर क्षेत्रमा रहेको गुंबहाः (गुंबिहार) र त्यहाँ रहेको बज्रयोगिनीसहित अन्य चार योगिनीको विषयमा तयार पारिएको डकुमेन्ट्री द योगिनीको प्रोमो र पोस्टर अष्ट्रेलियामा सार्वजनिक गरिएको छ ।

अष्ट्रेलियाको सिड्नी क्याम्प्सी सहरको एक कम्युनिटी हलमा गुथि अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा उक्त वृत्तचित्रको पोस्टर र प्रोमो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गुथि अष्ट्रेलियाका अध्यक्ष उमेश नापितले ‘द योगिनी’ डकुमेन्ट्रीको पोस्टर अनावरण गरे ।

आयोजक गुथि अन्तर्गतको भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैंजुले नेपालको कला संस्कृतिमा ३३ सय वर्षभन्दा पुरानो इतिहास बोकेको बज्रयोगिनी क्षेत्र र बज्रयोगिनीबारे बनाइएको डकुमेन्ट्री नेपालको इतिहास अध्ययनको निम्ति महत्वपूर्ण रहने बताए ।

त्यस्तै गुथि अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा सल्लाहकार पद्म शाक्यले योगिनीका निर्देशक महर्जन रत्नले निर्माण गरेको ‘मुद्दा’ चलचित्रमा पनि गुथि अस्ट्रेलियाले सहकार्य गरेको स्मरण गर्दै ‘द योगिनी’ डकुमेन्ट्रीमा पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा ‘द योगिनी’का लेखक तथा निर्देशक महर्जन रत्नले डा. बालगोपाल श्रेष्ठको Sacred Town of Sankhu लाई मूल स्रोतको रुपमा लिएर डकुमेन्ट्री निर्माण गरेको महर्जनले जानकारी दिए ।

युनेस्को विश्व सम्पदा सूचीमा बज्रयोगिनी क्षेत्रलाई राख्नका निम्ति चलाइएको अभियानप्रति डकुमेन्ट्रीले पनि आफ्नै किसिमको पहल गरेको निर्देशक महर्जनले बताए  ।

कार्यक्रममा पोस्टर र प्रोमो सार्वजनिक गरिएपछि बज्रयोगिनीको चर्या गीत पनि प्रस्तुत गरिएको थियो ।

Categorized in पेजथ्री