नेवार समुदायहरुले यःमरि पुन्हि पर्व मनाइयो
SamacharDesk – राम डंगोल | २०८१ मङ्सिर ३०, आइतबार

आज धान्य पूर्णिमा । मंसीर शुक्ल पूर्णिमालाई नेपालका विभिन्न समुदायले आ–आफ्नै परम्परा अनुसार धुमधामसंग मनाउने गर्दछन् ।
विशेष गरी नयाँ अन्नपात भित्र्याएपछिको खुशियालीमा यो पर्व मनाउने प्रचलन शुरु भएको विश्वास गरिन्छ । नेवार समुदायले आज घरघरमा यःमरि पकाएर खाने र ख्वाएर यःमरि पुन्हि मनाएका छन् । आजको दिनमा नयाँ बाली भित्र्याइ सोही चामलको पिठोबाट यःमरि बनाएर खाने गरिन्छ ।
साथमा उक्त भित्र्याइएको बालीको साथै यःमरि, ल्वंचामरि, कुबेर, गणेश, लक्ष्मी, बिमिरो आदि समेत भकारीमा राखेर पूजा गरिन्छ । यसरी पूजा गरिएको सामग्री आजबाट चार दिनपछि घरको छोरीबेटिले निकाल्ने गर्छन् ।
यसलाई स्वां क्वकायेगु भनिन्छ । यःमरि पुन्हिको दिनबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पुर्णिमा समेत भनिन्छ ।
आजकै दिनमा साँझपख समूह समूह मिलेर गीत गाउँदै घरघरमा यःमरि माग्न जाने चलन पनि रहेको छ । यसरी यःमरि माग्न जानेलाई त्यःछिंत्यः भनिन्छ । त्यःछिंत्यःको चलन भने अचेल हराउँदै गएको छ ।
नेवार समुदायमा यःमरि पुन्हिसँग सम्बन्धित एउटा ऐतिहासिक लोककथा प्रचलित छ । पाञ्चाल देशमा सुचन्द्र नाम गरेका दानी, परोपकारी महाजन आफ्नो परिवारसँग बस्दथे । एकदिन कुबेरलाई उत्त महाजनको परिक्षा लिन मन भएछ ।
कुबेरले एक दरिद्रको भेष बनाएर सुचन्द्रको घरमा पुगेछन् । घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिस भिक्षा माग्न आएको देखी सुचन्द्र र उनकी पत्नीले भिखारीको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिएछन् ।
सुचन्द्र र उनकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो सक्कली रुपको दर्शन दिए र ज्ञानको साथमा एउटा बिमिरो समेत प्रदान गरी अन्तर्ध्यान भए ।
कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी यःमरि अनि त्यहि चामलको पिठोको कुवेर समेत बनाई अन्न राख्ने भकारीभित्र राखेर पूजा गरिछन् ।
अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीं विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुनगई दैनिक आम्दानीमा बढोत्तरी हुनगयो ।
त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ ।
क्षेत्री ब्राह्मण समुदायले आजको दिनलाई देवाली पूर्णिमाको रुपमा मनाएका छन् । यस दिन उनीहरुले कुलपूजा तथा गोठ पूजा गरी मनाउने गर्दछन् ।
उता, पूर्वी पहाडी जिल्लाहरुमा किरात समुदायको उधौली पर्व आजदेखि शुरु भएको छ । वर्षायाममा लेकतिर राखिएका गोठ आजको दिनदेखि बेंसीतिर सार्ने भएकाले यो पर्वलाई उधौलीको रुपमा मनाउने गरिएको हो ।
उधौली पर्व किरात समुदायको दोस्रो ठूलो चाड पनि हो । यो पर्व उनीहरुले १५ दिनसम्म मनाउने गर्दछन् । केही वर्ष यता उपत्यकामा बस्ने किरात समुदायले उपत्यकामै उधौली मनाउने चलन पनि बढ्दो छ ।
तराई क्षेत्रमा पनि धान्य पूर्णिमालाई भब्य रुपमा मनाउने गरिन्छ ।
Categorized in संस्कृति