भक्तपुरको बिस्केट जात्रामा यःसिंद्यः उठाईँदै
SamacharDesk – बिराज | २०८० चैत्र ३०, शुक्रबार

विश्व प्रशिद्ध भक्तपुरको बिस्केट जात्राको क्रममा आज यःसिंखेलमा यःसिंद्यः उठाउन लागिएको छ । अहिले यःसिंखेलमा यःसिंद्यः उठाउन तयारी हुँदैछ । आठ रात नौ दिन लामो बिस्का जात्राको क्रममा आज शुक्रबार भक्तपुरको यःसिंखेलमा ५५ हात लामो यःसिंद्यः उठाईँदैछ ।
आठवटा डोरीको सहायताले स्थानीय युवाहरु मिलेर यःसिंद्यः उठाइन्छ । यःसिंद्यःमा दुईवटा लामा लामा ध्वजाहरु झुन्ड्याइएको हुन्छ । यस ध्वजालाई विश्वकेतु भन्ने गरिन्छ । यहि विश्वकेतु शब्द नै अपभ्रम्स भई जात्राको नाम नै बिस्केट हुन गएका भनाई छ ।
साथमा यी दुई ध्वजालाई दुई नागको प्रतिकको रुपमा पनि लिइन्छ । सर्पलाई मारेर यसरी ५५ हात लामो रुखको काठमा झुन्ड्याएर सबैलाई देश सर्पको कोपबाट मुक्त भयो भन्ने सन्देश दिएको किम्वदन्ति यस जात्रासँग जोडिएको छ । सर्पलाई मारेर जात्रा मनाइएको भएकोले नै यस जात्रालाई बि सिकाः (सर्प मरेपछि) जात्रा भनिएको भनाई पनि समाजमा प्रचलित छ ।
यस यःसिंद्यःलाई भैरवको प्रतिकको रुपमा पनि लिइन्छ । यःसिंद्यः उठाउनलाई आठवटा डोरीले तान्ने गरिन्छ । यी आठवटा डोरीलाई भने अष्टमातृकाको प्रतिकको रुपमा लिइन्छ ।
यस जात्रालाई लिच्छवीहरुले किराँतीहरुलाई हराई सकेपछि आफ्नो विजयध्वजा फहराएको पनि भनिएको पाइन्छ ।
चैत्र महिनामा सुर्य मीन राशीमा रहेको हुन्छ । बैसाख महिना लागेपछि सुर्य मेष राशीमा प्रवेश गर्छ । अन्तिमबाट गई पहिलोमा प्रवेश गरिने सुर्यको यात्रालाई विश्वयात्रा भनिएको र यहि विश्वयात्रा बिस्काः जात्रा हुन गएको पनि भनाई रहेको छ ।
आज उठाइएको यःसिंद्यः भोलि साँझमा ढालिनेछ । यसक्रममा यःसिंद्यः उठाउने जात्रा हेर्न साथै यःसिंद्यःको दर्शन, पूजा गर्न भक्तपुर लगायत काठमाडौं उपत्यका र वरपरका विभिन्न स्थानबाट हजारौंको भीड ल्यःसिंखेलमा लाग्ने गर्दछ ।
यःसिंद्यः जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।
यस अघि आज बिहान ११ बजेर ५० मिनेट जतिको समयमा भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको यःसिंद्यः उठाइएको छ । उता मध्यपुर थिमि नगरपालिका वडा नं ८ मा पनि विहानै हात नभएको लिंगो उठाएर विस्केट जात्राको थालनी भएको छ ।
Categorized in संस्कृति