जर्दारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित
SamacharDesk | २०८० फाल्गुण २७, आइतबार

आसिफ अली जर्दारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएका छन् । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार जर्दारी विजयी भएका हुन् ।
यसअघि उनले २००८ देखि २०१३ सम्म देशको ११ औं राष्ट्रपतिको रुपमा सेवा गरेका थिए । ६८ वर्षीय जर्दारीले निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।
पाकिस्तानी निर्वाचन आयोगका अनुसार जर्दारीले सांसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेका हुन् ।
जर्दारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।
पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त भए ।
त्यस्तै जर्दारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उम्मेदवार महमूद खान अचकजाईले भने कुल १८१ मत प्राप्त गरे ।
सन् २०२४ ८ फेब्रुअरीमा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका जर्दारी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान् हुन् ।
पाकिस्तानका राष्ट्रपतिको रुपमा शपथ लिनुअघि उनले राष्ट्रिय सभाबाट भने राजीनामा दिनुपर्नेछ ।
Categorized in अन्तर्राष्ट्रिय