चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा
SamacharDesk | २०८० पौष १, आइतबार

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ ।
शनिबारबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् ।
क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन थरी अनुभव लिन सकिने सञ्चालकको भनाइ छ । शुरुमा एड्भेन्चर, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव लिन सकिने बताइएको छ ।
वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गर्नुभयो । उहाँले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताउनु भयो ।
उहाँले जापानिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याइएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले जीपलाइनको अनुभव लिनसक्ने बताउनु भयो ।
उनले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए ।
उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए । क्यानओपी जीपलाइनमा तीन वटा स्टेप गरी ३ सय ५० मिटरको दूरी रहेको छ ।
जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गर्नुभएको हो ।
Categorized in बिजनेस