ट्वीटर जस्तै देखिने जुकरबर्गको नयाँ एप थ्रेड सार्वजनीक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २१, बिहिबार

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले ट्वीटर जस्तै देखिने नयाँ एप थ्रेड सार्वजनीक गरेका छन् । बिहीबारदेखि यो एप आईओएस र एन्ड्रोइडमा एकसाथ आएको हो ।
कुस्तीका लागि सामाजिक संजालका बादशाहद्वय जुकरबर्ग र एलन मस्क तयारीमै रहेका बेला अब दुवै जनाका कम्पनीहरू भने औपचारिक रुपमा नै प्रतिस्पर्धामा उत्रिएका छन् ।
मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।
इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले अन्तर्वार्तामा सोझै दृष्टान्त दिंदै वर्षौंदेखि ट्वीटर जुन किसिमको प्रयोजनका लागि परिभाषित भएको छ, थ्रेड पनि त्यस्तै किसिमले सार्वजनिक सम्वादका लागि डिजाइन गरिएको बताएका छन् ।
मोसेरीका अनुसार एलन मस्कले ट्वीटरको “अस्थिरता” र “अनिश्चितता” बीच दिएको चुनौतीका कारण यो प्रतिस्पर्धा सुरु भएको हो । मोसेरीले थ्रेड डाउनलोड गर्नुपर्ने एउटा नयाँ एप भएकाले एक चुनौतिपूर्ण प्रयास भएको बताएका छन् ।
जसमा अकाउन्ट सम्बन्धी जानकारीका साथै इन्स्टाग्राममा फलो गरिएका हरूको सूची समेत रहेको छ । यसले तत्कालै थ्रेड अकाउन्ट तयार पार्न सकिने बनाएको छ । तर मेटाले इन्स्टाग्राम अकाउन्टलाई सजिलै थ्रेडमा उतार्न सकिने बनाएको छ ।
खास तवरमा थ्रेड ट्वीटर जस्तै छ । एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्ता पोस्टहरूलाई रिपोस्ट गर्नुका साथै त्यसमा कमेन्ट गर्नसक्ने छ ।
हाल थ्रेडमा फोटो तथा पाँच मिनेट लामो भिडिओ सहित पाँच सय क्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ ।
तत्कालका लागि त्यसमा कुनै विज्ञापन भने छैनन् । साथै ट्वीटरमा जस्तो पैसा तिरेर भेरिफिकेसन लिनुपर्ने स्किम पनि छैन ।
थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ ।
यो एप प्रारम्भिक चरणमा विश्वका एक सय देशमा उपलब्ध भए पनि युरोपमा भने छैन । त्यहाँको डेटा सम्बन्धी कानूनले गर्दा हाल युरोपमा यो एप उपलब्ध नभएको बताइएको छ ।
Categorized in विज्ञान-प्रविधी