आज उपत्यकामा सकिमिला पुन्हि मनाईँदै
SamacharDesk – कल्चर ब्यूरो | २०७६ कार्तिक २६, मंगलबार

आज कार्तिक शुल्क पुर्णिमा, उपत्यकाका नेवार समुदायले सकिमिला पुन्हि मनाएका छन् । तिहारपछि आउने यस पुर्णिमालाई सकिमना पुन्हि पनि भन्ने गरिन्छ ।
खानाको विभिन्न परिकारको धनी नेवार समुदायले यो पर्व विशेष गरी गेडागुडीसँग सम्वन्धित छ ।
आजको दिन काठमाडौं उपत्यकाका विभिन्न चोक, बहालहरुमा विभिन्न गेडागुडीको कलात्मक प्रस्तुति प्रदर्शन गर्ने गरिन्छ । मकै, गहुँ, भटमास, ठुलो केराउ, सानो केराउ, चना, बदाम लगायतका गेडागुडीबाट मन्दिर, देउता, स्तुपा आदि लगायतको आकृती बनाई प्रदर्शन गर्ने गरिन्छ ।
गेडागुडीबाट बनाइएका ती आकृतीहरुलाई अझ आकर्षक बनाउन त्यसको वरिपरि विभिन्न फलफुल पनि राखेर सजाइन्छ भने दियो बालेर अझ आकर्षण थपिन्छ ।
यसरी गेडागुडीको कलात्मक प्रस्तुति प्रस्तुत गर्ने कार्यलाई स्थानीय नेपालभाषामा हलिमलि ब्वयेगु भन्ने गरिन्छ ।
बेलुकि अलिबेरसम्म गेडागुडी प्रदर्शन गरिसकेपछि सबै एकै ठाउँमा मिसाएर बाँडेर खाने गरिन्छ । गेडागुडी मिसाउने बेला बालबालिकाहरुको उत्साह हेर्दा जो कोहीलाई बाल्यावस्थामा फर्किन मन लाग्ने गरेको पाइन्छ ।
यहि दिनमा गेडागुडीसँगै पिँडालु र सखरखण्ड पनि खाने गरिन्छ । पिँडालुलाई स्थानीय नेपालभाषामा सकि भनिन्छ । पिँडालु उसिनेर खाने दिन भएकोले यस दिनलाई सकिमना पुन्हि पनि भन्ने गरिएको हो ।
यो पर्वलाई धार्मिक सहिष्णुताको पर्वको रुपमा पनि लिन सकिन्छ । सकिमिला पुन्हि वौद्ध धर्मावलम्बीहरुको लागि पनि विशेष दिन बन्ने गर्दछ भने वैष्णवहरुको लागि पनि उत्तिकै महत्वपूर्ण पर्व बनेको छ ।
यो दिनमा बौद्धमार्गीहरु बहालहरुमा, करुणामयको मूर्ति अथवा स्तुपाको अगाडी बसेर नामसंगीति पाठ पनि गर्ने गर्छन् । गेडागुडी, फलफुल, पिँडालु, सखरखण्ड आदि सहितबाट कलश, अष्टमंगल, चन्द्रमा, सूर्य लगायतका चित्र बनाएर त्यसकै अगाडी बसी नामसंगीति पाठ गर्ने गरिन्छ ।
नामसंगीति पाठलाई तुतः ब्वनेगु पनि भन्ने गरिन्छ । स्तोत्रबाटै अपभ्रम्स भई तुतः हुन गएको विज्ञहरुको भनाई छ । अरुबेला तुतः पाठ नगरेपनि सकिमिला पुन्हिमा अनिवार्य पाठ गर्नुपर्ने परम्परा छ ।
वैष्णवमार्गीहरु भने यस दिनमा व्रत बस्ने गर्छन् ।
विभिन्न स्थानमा साथै घरको छानामा राखिने आलमत (आकाशदीप) पनि आजसम्म बाल्ने गरिन्छ । बाँस अथवा पलाँस अथवा खयर, पीपलको खम्बा ठड्याई त्यसमा डोरीले बाँधी एउटा भाँडो झुन्ड्याइन्छ र यसै भाँडोभित्र तिलको तेल राखेर बत्ती बाल्ने गरिन्छ । यसैलाई आलमत भनिने हो ।
कार्तिक महिनालाई भगवान विष्णुको प्रिय महिनाको रुपमा लिइन्छ । कार्तिक महिनामा सन्ध्याकालमा भगवान विष्णुलाई तिलको तेलको आकाशदीप जसले चढाउँछ, उसले लक्ष्मी, सौभाग्य र सम्पत्ति प्राप्त गर्छ भनी धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
कार्तिक महिनामा रात सबैभन्दा अन्धकार हुन शुरु हुने मान्यता छ । यस्तो अँध्यारोमा चरीहरुले आकाशमा बाटो देखुन् भनेर यसरी आलमत बाल्ने गरिएको जनश्रुति छ ।
फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला
Categorized in संस्कृति