आज मेघमल्हार राग गाउँदै वर्षालाई आह्वान गरिने
SamacharDesk – बिराज | २०७९ जेठ ३१, मंगलबार

आज जेठ महिनाको पुर्णिमा, नेवार समुदायको लागि आजको दिनले विशेष महत्त्व राखेको हुन्छ । आजको दिनलाई काठमाडौं उपत्यकाका नेवाः समुदायले ज्याः पुन्हि भन्ने गर्छन् ।
पुन्हि भन्नाले पुर्णिमा र ज्याःलाई ज्याथः भनी अर्थ्याइएको छ । आजको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ ।
ज्याथः भन्नाले स्थानीय भाषामा ज्येष्ठ अथवा जेठो भन्ने बुझिन्छ । वर्षको सबैभन्दा लामो दिन भएकोले यसलाई ज्याथः भनिएको भनाई छ ।
त्यस्तै जेठ अथवा जेष्ठ महिनामा परेको पुर्णिमा भएकोले जेष्ठ पुर्णिमा भन्दै ज्याथः पुर्णिमा भनिएको भनाई पनि रहेको छ ।
ज्याःपुन्हिसँग संगीत र मल्लकालीन राजा सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लको विशेष सम्वन्ध रहेको छ ।
आजको दिनमा ललितपुरको ऐतिहासिक दरवार क्षेत्र मंगलबजारस्थित कृष्ण मन्दिरको पेटीमा राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको लागि प्रदर्शनीमा राखिन्छ ।
त्यस्तै मंगलबजारमै राजा सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लबाट रचित ३२ वटा दाफा भजन गाउने गरिन्छ ।
आज दिनभरी नै भजन गाइने
ज्याःपुन्हिको दिनमा मंगलबजारमा ३२ वटा विभिन्न भजनहरुमध्ये मेघमल्हार रागमा आधारित दाफा भजनहरु पनि गाइन्छ ।
आज करीब दिनभरी जस्तै नै बसेर यी ३२ वटा भजनहरु गाइन्छ ।
गएको वर्षमा महामारीको अवस्थामा औपचारिकतामा मात्र सिमीत गरी केही समय मात्र भजन गाइएको थियो ।
यस वर्ष भने दिनभरी नै भजन कार्यक्रम हुने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।
किन गाइन्छ मेघमल्हार राग
मेघमल्हार राग मेघमल्हार राग गाएमा पानी पर्ने विश्वास रहेको छ । भारतीय संगीत क्षेत्रमा पनि उस्ताद तानसेनले मेघमल्हार राग गाएर वर्षा गराएको कुरा उल्लेख छ ।
त्यस्तै यहाँ ललितपुरमा पनि वर्षालाई आह्वान गर्दै मेघमल्हार रागमा आधारित भजन गाइन्छ ।
जेठ पुर्णिमाको भोलिपल्टबाट असार महिना सुरु हुने गर्दछ । असार महिना रोपाईँको महिना हो । रोपाईँको लागि चाहिने पानीको लागि वर्षालाई आह्वान गर्दै मेघमल्हार राग गाइएको कुरा प्रष्ट छ ।
हाम्रा प्राय संस्कृति, संस्कारको सम्वन्ध खेतीपातीसँग रहेको देखिन्छ । ज्याःपुन्हिको सम्वन्ध पनि मेघमल्हार रागसँगै कृषिसँग जोडिन गएको देखिन्छ ।
सबैभन्दा लामो दिनसँग संगीतको सम्वन्ध
पश्चिमी मान्यता अनुसार जुन २१ लाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिइन्छ । यसै दिनमा विश्व संगीत दिवस पनि मनाउने गरिएको छ ।
वर्षको सबैभन्दा लामो दिनमा विश्व संगीत दिवस मनाउने चलन काठमाडौं उपत्यकामा मेल खान आएको भन्न सकिन्छ ।
तिथिको हिसाबले सबैभन्दा लामो दिन मानिएको जेठ पुर्णिमा अर्थात ज्याःपुन्हिको पनि सम्वन्ध संगीतसँग जोडिएको देखियो ।
ज्याःपुन्हिको दिनमा मेघमल्हारसहित विभिन्न रागमा आधारित भजन गाउने परम्पराले यो दिनको सम्वन्ध संगीतसँग जोडिएको छ भन्न सकिन्छ ।
साथमा यस चलनलाई लिएर स्थानीय वासिन्दाले ललितपुरबासीले मल्लकालमै वर्षका लामो दिनमा संगीत दिवस मनाउन थालिसकेको भनेर व्याख्या गर्ने गरेको छन् ।
किन बाहिर राखिन्छ श्रीनिवास मल्लको सिंहासन
आजको दिनमा राजा श्रीनिवास मल्लको सिंहासन मंगलबजारमा प्रदर्शनीमा राख्ने गरिन्छ । अरु बेलामा पाटन संग्रहालय भित्र रहने सिंहासन आज भने सर्वसाधारणको अवलोकनको लागि मंगलबजारस्थित कृष्ण मन्दिरको पेटीमा राखिन्छ ।
उक्त सिंहासन पाटन वकुबहालका जोथाजु शाक्यले सम्यक महादानको अवसरमा राजा श्रीनिवास मल्ललाई उपहार दिएको भनिन्छ ।
सुर्योदयसँगै सिंहासन बाहिर ल्याई कृष्ण मन्दिरको पेटीमा राख्न ल्याइन्छ । सिंहासनसँगै ३२ वटा दाफा भजनसँग सम्वन्धित बिलंपौ भनिने पौभाः चित्र पनि प्रदर्शनीमा राखिन्छ । अचेल कमिक्स भनेजस्तै सचित्र कथाको पौभाःलाई बिलंपौ भन्ने गरिन्छ ।
दाफा भजन गाइरहुन्जेल दिनभरी सो सिंहासन बाहिरै राखिन्छ भने साँझपख भजन गाउन सिद्धिएपछि भित्र संग्रहालयमै सुरक्षित राख्न लगिन्छ ।
तत्कालीन समयमा राजा स्वयम् त्यहाँ बसी दाफा भजन श्रवण गर्ने परम्परा रहेको थियो । सोही परम्परालाई निरन्तरता स्वरुप राजा श्रीनिवास मल्लको प्रतीकको रुपमा उनको सिंहासन राख्ने गरिएको हो ।
काम गर्न नहुने दिन ज्याःपुन्हिको दिनमा कुनै काम गर्न नहुने मान्यता रहेको छ । यसै मान्यताको आधारमा आजको दिनलाई उपत्यकावासीको श्रमिक दिवसको रुपमा समेत व्याख्या गर्ने गरेको पाइन्छ ।
रोपाईँको लागि तयार रहनुपर्ने समय हो यो समय । खेतीपातीको लागि आवश्यक वर्षाको आह्वान गरेपछि रोपाईँको अन्य तयारी गर्नुका साथै शारिरीक शक्ति पनि संचय गर्नुपर्ने हुन्छ ।
त्यसैले आजको दिन केही काम नगरी रोपाईँको लागि आफ्नो शक्ति संचय गरिएको भनी बुझ्न सकिन्छ ।
साथै नेवार समुदायमा सिथिनखःको दिनबाट गथांमुगःको दिनसम्म छालाबाट बनेको कुनै पनि बाजा बजाउन नहुने परम्परा छ । कतै भने भलभल अष्टमीसम्मै बाजा बजाइन्न । तर आजको दिनमा खिंलगायतका बाजा बजाउँदै दाफा भजन गाइन्छ ।
बाजा बजाउन नहुने कालक्रमभित्रै आजको दिनमा बाजा बजाउँदै भजन गाउनुको मुख्य रुपमा दुईवटा उद्देश्य रहेको देखिन्छ ।
एक त, आजको दिनमा केही काम गर्न नहुने भएकोले त्यत्तिकै बस्दा नैराश्य लाग्न सक्छ । त्यसैले मनोरन्जनको लागि टोल, समाजको साथमा राजासमेत भेला भई भजन गाइएको हो भन्न सकिन्छ ।
दोश्रोमा लामो समय बाद्य सामग्रीहरु नचलाई राख्नाले विग्रिन सम्भावना हुनसक्छ वा अवस्था थाहा नहुन सक्छ । वाद्यसामग्रीको अवस्था हेर्नको लागि र आवश्यक परे मर्मत आदि गर्नको लागि बीचमा एकपटक निकालिएको पनि भन्न सकिन्छ ।
Categorized in संस्कृति