कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी – भाग २
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र १०, सोमबार

वर्तमान समयमा कोरोना संक्रमण नियन्त्रण चाँडै होस्, सबैले आरामको सास फेर्न पाउँ भन्ने इच्छा त विश्वभरी हरेकको रहेको छ । तर कतै नयाँ संक्रमणको संख्या घट्दो दरमा छ त कतै बढ्दो दरमा छ । छिमेकी मुलूक भारतमा संक्रमणको संख्या बढ्न थालेपछि नेपालको चिन्ता पनि बढेकै छ भने झन् राजधानि काठमाडौंमै एकजना संक्रमित भेटिएपछि आम नागरिक झन चिन्तित बनेका छन् । यस्तो अवस्थामा यहाँका वडा कार्यालयहरुको सक्रियता कत्तिको बढ्ने छ, यसतर्फ के कस्ता कदमहरु चालिनेछ त्यो त हेर्न बाँकि नै छ । आजको दिनसम्ममा के कस्ता गतिविधि भइरहेका छन्, त्यस बारेमा समाचारडेस्कको श्रृङ्खलाको दोश्रो भाग प्रस्तुत छ ।
काठमाडौं ओमबहालस्थित बडा नम्बर २३ को कार्यालय दिउँसो २ः३० बजेतिर बन्द नै थियो । सेवाग्राही न्यून संख्यामा आउने गरेको र संक्रमणको रोकथामतर्फ सक्रिय रहनुपर्ने अवस्थामा कार्यालय विहानको समयमा मात्र खोलिने र दिउँसो कार्यक्षेत्रमै गएर जनप्रतिनिधिहरु सक्रिए रहेछन् ।
वडा कार्यालयको ढोकैमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको थियो भने साबुन पानीले हात धोएर मात्र कार्यालय प्रवेश गर्नुहोला भन्ने सूचना पनि ढोकैमा टाँसिएको थियो ।
वडा कार्यालयबाट केही पर गणेश मन्दिरसँगैको सटरमा वडाको हेल्प डेस्क पनि स्थापना गरिएको रहेछ । सो डेस्कबाट पर्चा पम्प्लेट बाँड्दै जनचेतना फैलाउने, साबुन पानीले हात धुन दिने, स्यानिटाइजरले हात सफा गर्न लगाउने लगायतको काम भइरहेको रहेछ ।
त्यसैगरी २४ वडा कार्यालयले पनि वडाभित्रका विभिन्न १२ स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ । त्यसैगरी विभिन्न स्थानमा हेल्प डेस्क पनि संचालन गरेको छ ।
मखनमा महादेव मखन क्लवको सहकार्यमा हेल्प डेस्क संचालन गरिएको छ । वडा सदस्य विनोद तुलाधर पनि उतै भेटिए । उनी बटुवा जतिलाई साबुन पानी र स्यानिटाइजरले हात धुन भन्दै थिए ।
महादेव मखन क्लवका अध्यक्ष समेत रहेका वडा सदस्य तुलाधरले केन्द्रबाट प्राप्त १ हजार थान मास्कको साथै वडाबाट ३ हजार थान र क्लबबाट ८ हजार थान मास्क खरीद गरी सर्वसाधारणमा वितरण गरिएको बताए ।
वडा कार्यालयबाट वडाभित्रका प्रत्येक घरघरमा मास्क वितरण भइरहेको र क्लवको मास्क बाटोमा वितरण गर्दै गरेको तुलाधरले जानकारी दिनुभयो ।
वडाबाट इएम मगाइसकेको र सम्भवतः भोलिबाट वडाभित्र इएम छर्किने काम शुरु हुने पनि उहाँले बताउनुभयो ।
दमाइटोलस्थित १९ वडा कार्यालयमा पनि सबै जनप्रतिनिधिहरु पनि कार्यालयमा भेट्टिएन, कार्यक्षेत्रमै लागेका रहेछन् । वडा कार्यालयका एक कर्मचारीले वडाभित्र विभिन्न स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाउन ड्रम साथै अन्य आवश्यक सामग्री मिलाउन सबै बाहिर रहेको बताए ।
केन्द्रबाट १ हजार थान मास्क प्राप्त भएको र सो मास्क वितरण गरिएको उनले बताए । ‘जम्मा १ हजार थान मास्क प्राप्त भएको छ । पुग्दै पुगेन, कसलाई दिने, कसलाई नदिने’ उनले गुनासो पोखे ।
१७ वडाका अध्यक्ष नवीन मानन्धर पनि बाटैमा भेट्टिए । संक्रमण रोकथामको लागि सक्दो कोशिश गरिरहेको उनले बताए । आजबाटै वडाभित्र इएम छर्किन थालिएको र ४ स्थानमा हात धुने व्यवस्था मिलाएको वडाध्यक्ष मानन्धरले बताए ।
साधारण रुघाखोकी र ज्वरको लागि वडाबाट निःशुल्क औषधी वितरण पनि भइरहेको मानन्धरको भनाई थियो ।
यसको साथमा अत्यावश्यक समयको लागि वडाबासीहरुको लागि भनेर यातायातको सुविधा पनि मिलाइएको मानन्धरले जानकारी गराए ।
यसको साथमा वडाभित्र केही समस्या देखिने अवस्थाको लागि क्षेत्रपाटी अस्पतालसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
कोरोना भाइरसविरुद्ध यो विश्वयुद्धमा हामी पनि एक योद्धा हौं
मुलूक १८ गतेसम्मको लागि लकडाउनमा छ । एकजनामा संक्रमणको पुष्टि भएपछि सतर्कता बढाउनुपर्ने अवस्था पनि छ । यस्तो अवस्थामा पनि वडा कार्यालयको पूर्व तयारीको जानकारीमूलक यो श्रृङ्खलालाई सक्दो निरन्तर बनाउन समाचारडेस्कको टिमले कोशिश गर्नेछ ।
अहिलेको समयमा सबैजना गम्भीर बन्नैपर्छ । सबैजना घरमै रहनुहोला, सुरक्षित रहनुहोला । अनावश्यक रुपमा बाहिर ननिस्किनुहोस् ।
कोरोना भाइरसविरुद्ध यो विश्वयुद्धमा हामी पनि एक योद्धा हौं । सबै मिलेर संयम हुँदै, सतर्क रहँदै यो विश्वयुद्धमा विजय प्राप्त गर्न सकौं ।
यो लिंक पनि हेर्नुहोला
कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी – भाग १
Categorized in राष्ट्रिय