arin enterprises

गुथि सम्बन्धि संशोधन विधेयकको विरोध चर्कियो

SamacharDesk – विराजकाजी राजोपाध्याय | २०७६ जेठ २८, मंगलबार

काठमाडौंको ईन्द्रचोक क्षेत्र । दिनहुँ भीडभाड भइ नै रहन्छ । बजारमा किनमेल गर्नेको भीड, कार्यालयतर्फ अथवा घरतर्फ लम्कँदै गर्नेको लर्को अथवा घुमघाम गर्दै लस्सीको चुस्की लिन आउने त यहाँ दिनहुँ हजारौं संख्यामा देखिन सकिन्छ । तर सोमबारको माहौल भने बेग्लै थियो । 

ज्येष्ठ २७ सोमबारका दिन पनि ईन्द्रचोकमा ठुलो संख्यामा जनमानसको भीड थियो । त्यहाँ भेला भएका जनमानसमा आक्रोश झल्किरहेको थियो । विरोधको राँको बलिरहेको देख्न सकिन्थ्यो सबैको अनुहारमा । सबैको नारा ईन्द्रचोकको आकाशमा गुन्जिरहेको थियो 

‘गुथि प्राधीकरण चाहिँदैन, हाम्रो संस्कृति मास्न पाईँदैन’

‘गुथि विधेयक खारेज गर, खारेज गर’

‘गुथि संशोधन विधेयक मुर्दावाद, मुर्दावाद’

‘संस्कृतिप्रेमी एक हौं, एक हौं’

यो कुनै भीड थिएन । उद्देश्यविहीन मान्छेहरुको समूहलाई पो भीड भनिन्छ । तर यहाँ भेला भएका सबैको उद्देश्य थियो, आफ्नो संस्कृतिको संरक्षण । सरकारले संसदमा दर्ता गराएको गुठि विधेयकको विरोधमा भेला भएको जनमानस थियो यो ।

गुथि विधेयकको विरोधमा सभामा आआफ्नो विचार राख्न अभियन्ताहरु पनि भेला भइसकेका थिए र आफ्नो विरोधको आवाज गुन्जाउन विभिन्न गुठिका गुथियारको साथमा ठुलो संख्यामा संस्कृति प्रेमीहरु पनि भेला भइसकेका थिए । नभन्दै त्यहाँ बन्दुकधारी प्रहरी पनि देखिनथाल्यो र विस्तारै ती प्रहरीहरुले सभा हुने क्षेत्रलाई आफ्नो घेरामा पनि हालिसकेका थिए ।

‘अब यिनीहरुले दमन गर्न खोज्नेछन्, अब यिनीहरुले हिजो माईतीघरमा जस्तै लाठि र बुँट बर्साउनेछन्’ आइतबार माइतीघर मन्डलामा प्रहरीको दमन देखेका केहीले त्यहाँ यस्तो अनुमान पनि लगाउन थालिसकेका थिए । तर त्यहाँबाट कोही पनि यताउति भएनन् र झन चर्को स्वरमा आफ्नो विरोध पोख्न थाले ।

मन्चबाट अभियन्ता विराजभक्त श्रेष्ठ माइकमा चिच्याए, ‘हाम्रै संस्कृति मास्न खोज्ने यो सरकारलाई हाम्रै जात्रापर्वमा प्रमुख अतिथी बनाएर किन बोलाउने ? अब यिनीहरुलाई वहिष्कार किन नगर्ने हामीले ?’

उपस्थित जनमानसतर्फबाट ठुलो स्वरमा ताजि बज्न थाल्यो र आवाज आयो, ‘हो, हो । वहिष्कार नै गर्नुपर्छ यिनीहरुलाई । वहिष्कार गर, वहिष्कार गर’

विरोध सभाको आयोजक राष्ट्रिय पहिचान संरक्षण समितिका संयोजक श्यामकृष्ण प्रजापतिले भने, ‘हाम्रो समूहले विरामीलाई फ्रेस रगत चाहिएमा सहयोग गर्ने गरेका छौं । के यो सरकारलाई पनि फ्रेस रगत नै चाहिएको हो । हामी तयार छौं । यदि सरकारले गुठि विधेयक फिर्ता लिएन भने हामी सडकमा ताजा रगतको खोला नै बगाउन तयार छौं ।’

सोही विरोध सभालाई सम्वोधन गर्दै अभियन्ताहरु अनिश वैद्य, यादवलाल कायस्थ, सुरज महर्जन, शैलेस शाक्य, रविन्द्र श्रेष्ठ, गणपतिलाल श्रेष्ठ, कुमार लिङदेन, प्रेम बहादुर खाती लगायतले नेपालको पहिचान भनेकै यहाँको स्थानीय संस्कृति भएको बताउँदै हाल छलफलमा रहेको गुठि विधेयक पास भएमा यहाँका सम्पूर्ण गुथिसँगै स्थानीय संस्कृतिसम्मै लोप हुने अवस्थामा पुग्ने दावी गरे ।

होली वाइन पिएको नेपाल सरकार यहाँको स्थानीय धर्म, संस्कृति मासेर ईसाइकरणलाई मलजल गर्न खोजिरहेको कार्यक्रमका वक्ताहरुको भनाई रहेको थियो । यहाँको धर्म, संस्कृति मास्नको लागि विभिन्न वहानामा विभिन्न समयमा सरकारले निरन्तर प्रहार गरिरहेको दावी पनि उनीहरुको रहेको थियो ।

धमाधम त्यहाँ जनमानसको संख्या पनि बढ्दै गइरहेको थियो र हरेक भनाईसँगै तालीको आवाज र सबैको मनभित्रको आक्रोस पनि बढ्दै थियो ।

सभाको समाप्तीसँगै उपस्थित जनसमुदायले माग गर्न थाले, ‘एकैछिन भएपनि र्याली निकाल्नै पर्छ ।’

सबैको डिमान्डसँगै स्वस्फुर्त रुपमा र्याली शुरु भयो । ईन्द्रचोकमा सम्पन्न सभामा उपस्थित जनसमुदाय भेडासिङतर्फ र्यालीको रुपमा अगाडी बढ्यो, नारा घन्काउँदै,

गुथि प्राधीकरण चाहिँदैन, हाम्रो संस्कृति मास्न पाईँदैन’

‘गुथि विधेयक खारेज गर, खारेज गर’

‘गुथि संशोधन विधेयक मुर्दावाद, मुर्दावाद’

‘संस्कृतिप्रेमी एक हौं, एक हौं’

 

Categorized in राष्ट्रिय