arin enterprises

दीगो व्यवस्थापनतर्फ लम्कँदै उपाकलं सायाः नरसिंह जात्रा

SamacharDesk – कल्चर ब्यूरो | २०७६ भाद्र ३, मंगलबार

हरेक वर्ष भाद्र कृष्ण पञ्चमिको दिन विश्व शान्तिको कामना गर्दै ललितपुरमा शान्त स्वरुपका नरसिंहको जात्रा ‘उपाकलं सायाः’ निकालिन्छ । आज पनि धुमधामका साथ यो जात्रा सम्पन्न भएको छ । विगतमा आर्थिक समस्यामा जेलिँदै सञ्चालन हुँदै आएको जात्रामा यसपालिबाट भने केही आशाको दियो बलेको छ ।

सम्भवत विश्वकै एकमात्र शान्त स्वरुपको नरसिंह जात्रा हो यो । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठीले सञ्चालन गर्दै आएको यो जात्राको लागि ठुलै आर्थिक समस्या रहेको थियो । ललितपुर महानगरपालिकाबाट पाइने सानो आर्थिक सहयोगबाहेक कुनै आर्थिक श्रोत थिएन । जसोतसो गुठीले व्यवस्था गर्ने सानो रकमबाहेक अन्य सबै व्यवस्था जात्राको पालोवालाले गर्नुपथ्र्यो । यस्तो अवस्थामा हरेक वर्ष जात्राको निरन्तरताको सवालमा शंका पैदा भइरहन्थ्यो ।

तर अव अवस्था फेरिएको छ । अहिले जात्राको निरन्तरताको सवालमा सुनिश्चितताको आशा जागेको छ । नेपाल पर्यटन बोर्डले ललितपुर महानगरपालिकामार्फत जात्राको लागि रु. १० लाखको अक्षय कोष खडा गरिदिएको छ । रु. १० लाखको ब्याजको ७५ प्रतिशत जात्राको लागि चलाउन पाइने भएको छ भने ब्याजको १० प्रतिशत फेरी सावाँमै थपिँदै जानेछ र १५ प्रतिशत भने कर काटिनेछ । यस्तोमा वर्षेनी सावाँ रकम पनि बढ्दै जाने र व्याज रकम पनि बढ्दै जाने अवस्थामा जात्राको लागि आर्थिक समस्या पनि कम हुँदै जाने देखिएको छ ।

केही समय अगाडी उपाकर्म गुथि ललितपुरले पुर्णचण्डिमा लक्षाहुति यज्ञको पनि आयोजना गरेर जात्राको कोषको लागि रकम जम्मा गरेको थियो । त्यसबाट संकलित रकमबाट पनि उपाकलं सायाः नरसिंह जात्राको लागि छुट्टै कोष बनाएको छ । यस कोषको व्याज पनि जात्रा संचालनको लागि चलाइनेछ । यसरी उपाकलं सायाःको आर्थिक पक्ष सवल हुँदै गएको अवस्थामा यसको भविष्य पनि सुनिश्चित हुँदै गएको भन्न सकिन्छ ।

वर्षातका बीच पनि धुमधामका साथ सम्पन्न भयो जात्रा

ललितपुरका राजोपाध्याय ब्राम्हणहरुमा ज्येष्ठताको आधारमा पालो चलाइने यो जात्रा यसपालि स्वनिम्हका हेरम्बराज राजोपाध्यायको घरबाट संचालन भएको थियो । र पालोवालाको पुरोहित अथवा ज्वाइँ अथवा भान्जालाई नरसिंह बनाइने परम्परा अनुसार पालोवाला राजोपाध्यायका ज्वाइँ ललितपुर पट्को निवासी महेश ज्वालानन्द राजोपाध्यायलाई नरसिंह बनाई नगर परिक्रमा गराइएको थियो ।

पाँच जोडी अप्सरा र लक्ष्मी, सरस्वती र भक्त प्रल्हादसँगै स्वनिम्हबाट शुरु गरिएको शान्त स्वरुपका नरसिंहको जात्रा नकबहिल, धलायचा हुँदै क्वालखु पुग्दा ठुलै पानी परेको थियो । ठुलो वर्षातसँगै जात्रा क्वालखुबाट अघि बढेर झतापोल, कुम्भेश्वर हुँदै क्वबहाल, स्वथबाट मंगलबजार पुग्दा वर्षा रोकिएको थियो ।

त्यसपछि सौगल, सुन्धारा, वकुबहाल, चक्रबहिल, तंगल, हौगल, तिच्छुँगल्ली, इखालखु, जेनबहाल, वला हुँदै पुर्णचण्डी पुगेर विश्राम लिइएको थियो । पूर्णचण्डी पुगेर विश्राम लिने यो चलनलाई स्थानीय भाषामा झाःझू भनिन्छ ।

झाःझू पछि गाःबहाल हुँदै प्यंगःथां, पिम्बहाः हुँदै स्वनिम्हमै पुगेर जात्रा सम्पन्न भएको थियो ।

प्राकृतिक प्रकोप, रोगव्याधी आदिबाट रक्षाका साथै विश्वशान्तिको कामना सहित मनाइने जात्रामा शान्त स्वरुपका नरसिंहको दर्शन र पूजा गर्न दर्शनार्थीहरुको ठुलै घुइँचो लागेको थियो ।

ब्राम्हणहरुको ठुलो कर्मको रुपमा लिइने उपाकर्म राजोपाध्याय ब्राम्हणहरुमा यहि जात्रापछि मात्र पूर्ण हुने मान्यता रहेको छ । साथमा उपाकर्मको एउटा महत्वपूर्ण पक्ष भनेको पितृ मोक्ष पनि हो । शान्त नरसिंहको जात्रा सफलतापूर्वक सम्पन्न भए दिवंगत पितृहरुले वैकुण्ठमा वास पाउने मान्यता पनि रहेको छ ।

ललितपुरमा कार्तिक नाचका नरसिंहलाई उग्र रुपमा लिइन्छ भने उपालकं सायाःका नरसिंहलाई शान्त स्वरुपमा लिइन्छ ।

यो पनि पढ्नुहोला : शान्त स्वरुपका नरसिंह पनि छन् ललितपुरमा

Categorized in संस्कृति