arin enterprises

ब्लाइन्ड रक्स वाक, एउटा फरक अनुभूति

SamacharDesk – निर्मल वज्राचार्य | २०७५ आषाढ २६, मंगलबार

वाल्यकालमा स्कूलमा एउटा कथा पढ्नुपथ्र्यो । ‘एकजना मान्छे एकपल्ट एउटा खुट्टा बाँधेर वैसाखी टेक्दै बाटोमा हिंडिरहेको थियो । त्यो देखेर एकजना बटुवाले के गरेको भनी सोधे । उनले भोलि गएर मेरो एउटा खुट्टा भाँचियो भने के गर्ने, त्यहि भएर अहिलेदेखि अनुभव लिँदैछु भनी जवाफ दियो । त्यस्तै अर्को दिनमा त्यहि मान्छे आँखामा पट्टि बाँधेर लौरोले टेक्दै हिंडिरहेको थियो । फेरी किन त्यसरी हिंडेको भनी कसैले सोध्दा भोलि गएर केहि घटना, दुर्घटना भएर मैले आँखाले नदेखे के गर्नु भनेर अहिले नै प्राक्टिस गरिरहेको भन्ने जवाफ दियो ।’

यो कथा विद्यार्थी जीवनमा पढेको बेलामा त हाँस्यास्पद लाग्थ्यो । त्यो बेलामा त यो कथा पढेर खुब हाँसियो पनि । तर आज यो कथालाई सम्झिँदा बेग्लै अनुभव हुन्छ । यो कथालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । साँच्चिकैमा एक दृष्टिवान व्यक्तिले पनि यो अनुभव लिनैपर्छ जस्तो लाग्छ अचेल । दृष्टिशक्ति गुमाएका व्यक्तिहरुले बाटोमा हिँड्दा कति संघर्ष गर्नुपर्छ, कति समस्याको समस्याको सामना गर्नुपर्छ हामीले कल्पना पनि गर्न सक्दैनौ । माथि कथामा भनिएजस्तै आँखामा पट्टि बाँधेर छडिको सहाराले हिँड्नु भनेको कुनै हाँसोको विषय पक्कै होइन रहेछ । एक दृष्टिशक्ति गुमाएका व्यक्तिको समस्या बुझ्न त्यो खालको अनुभव एकपल्ट भएपनि लिनको लागी एकपटक त्यसरी हिँड्नु राम्रै काम हुनेछ ।

गत असार २३ गते शनिबारका दिन एउटा बेग्लै अनुभव गरियो । राजधानी काठमाडौंमा ब्लाइन्ड रक्स वाक नामक एउटा अनौठो पदयात्राको आयोजना भयो । नेपालमा पहिलो पटक दृष्टिवानहरुलाई आँखामा पट्टि बाँधेर सेतो छडिको सहाराले स्वयम्सेवकको सहयोगमा दृष्टिशक्ति नभएका, गुमाएकाहरुसँग नै हिँडाइएको थियो । दृष्टिशक्ति नभएका, गुमाएकाहरुलाई छडीको सहायताले बाटोमा हिँड्दा गर्नुपर्ने संघर्ष र भोग्नुपर्ने समस्याको अनुभव प्रयोगात्मक तरिकाले नै गराउन यस्तो कार्यक्रम गरिएको थियो ।

पदयात्राको शुभारम्भ गर्ने क्रममा ब्लाइन्ड रक्सका अध्यक्ष दृष्टिविहिन सृष्टि केसीले दृष्टिवानहरुलाई आँखामा पट्टि बाँधेर सेतो छडि र स्वयम्सेवकको सहायतामा हिँड्न आग्रह गरिन । शुरुमा त कोहि त्यसरी हिँड्न तयार भएनन् । अरुको त के कुरा स्वयम् म पनि तयार भएको थिइन । जव सृष्टिले प्लीज डेयर टु वाकविथ ब्लाइन्ड फोल्ड भनेर अपिल गरिन्, दृष्टिवानहरुले आँखामा पट्टि बाँध्न थाले । मैले पनि आँखामा पट्टि बाँधे । त्यसपछि एक दृष्टि गुमाएको व्यक्ति सरह म पनि हिँडे एउटा छडिको सहारामा काठमाडौंका अति नै व्यस्त सडकहरुमा । हामी आँखामा पट्टि बाँधेर सेतो छडिको सहायताले वसन्तपुरबाट हिँड्दै ईन्द्रचोक, असन, कमलाक्षी, रानीपोखरी, भोटाहिटी, वीर हस्पिटलबाट न्यूरोड हँुदै पुनः वसन्तपुरमा पुगेर पदयात्रा समापन गर्यौं ।

बीस जना दृष्टिशक्ति नभएका र तीस जना दृष्टिवानलाई आँखामा पट्टि बाँधेर प्रत्येकलाई एक एकजना स्वयम्सेवकको सहयोगमा शहर परिक्रमा गराईयो । सो क्रममा मित्र प्रेम आचार्यको पाखुरा समाई सेतो छडिको भरमा विना कुनै वाधा व्यवधान मैले पनि आफ्नो यात्रा सम्पन्न गरें । यात्रा अवधिभर उज्वलन क्षेत्र समाजका अध्यक्ष वासुदेव अधिकारी र कोषाध्यक्ष सुशील अधिकारीले सेतो छडिको प्रयोग र बाटोमा हिँड्दा सुनिने विभिन्न आवाज र वास्नामा विशेष ध्यान दिएर नाक, कान र छाला जस्ता इन्द्रियलाई अझ बढी सक्रिय बनाउनु पर्ने सल्लाह दिइरहेका थिए । वासुदेवजीले पेटीमा ओछ्याइएको पहेंलो ब्लकलाई छडिले छाम्दै हिँडन भन्नुभयो । उक्त पहेंलो ब्लकलाई पछ्याउँदै हिँड्दा भने सजिलो भएको महसूस गरें । आजभन्दा अगाडि पेटीको पँहेलो ब्लकको उपयोगीताकाबारे म अनभिज्ञ थिएँ ।

आँखामा पट्टि बाँधेर सेतो छडिको मद्दतले हिँड्दा आपूmले अगाडि, दाँया र बाँया केहि नदेख्ने अवस्थामा एक घन्टा हिँड्दा हिँडियो । त्यत्ति सजिलो छैन रहेछ त्यसरी हिँड्न पनि । त्यति १ घन्टाको त्यो अनुभवमा मैले सोचें, जीवनभर मात्र एउटा सेतो छडिको सहाराले हिँड्नुपर्दा झन कति समस्या हुँदो हो । काठमाडौं पेटी, सडक लगायतको बाटोघाटो, ट्राफिक व्यवस्थापन शारिरीक अपाङ्गता भएका व्यक्तिहरुको लागी कत्तिको समस्या रहेछ भनेर त्यो बेला बुझियो । कत्ति पेटीमा पहेंलो ब्लक बिछ्याइएको छ । तर बीच बीचमा उप्किएको पनि थियो । कतिपय ठाउँका पहेलो ब्लक त अगाडि रुखमा वा लठ्ठामा गएर ठोक्किने खालको पनि थियो । अझ दृष्टि गुमाएका व्यक्तिहरुको लागी हिँड्नको लागी पनि पेटिमा छुट्टै लेनको आवश्यकता मैले महसूस गरें । सवारी गतिको नियम त मतलबै छैन यहाँ । दृष्टि गुमाएकाहरुको लागी बाटो काट्नपर्यो, कति समस्या । आकाशे पुल अथवा सब वे भएकै ठाउँमा पनि त दुष्टिशक्ति नभएका व्यक्तिहरुको लागी समस्या छ । 

१ घन्टा हिँडाईको क्रममा बाटोमा हिँडिरहेका दुई चारजनाको खुट्टालाई सेतो छडिले अन्जानबस अल्झाइदिएँ, कसरी हिँडेको भनी झर्केर गाली पनि गरे, आपूm भने माफी माग्दै अगाडि बढीरहें । गाली गर्ने बटुवाले पनि आँखामा पट्टि बाँधेर हिँडेको देखेपछि भने केहि नभनी गए ।

नायिका बेनिशा हमालले आँखामा पट्टि बाँधेर सेतो छडीको सहायताले हिँडेर कार्यक्रमको शुभारम्भ गरेकि थिइन् । नायिका जेनिशा हमालले सृष्टि केसीको सत्य घटनामा आधारित चलचित्र ब्लाइन्ड रक्समा सृष्टि नै भएर अभिनय गर्दैछिन् । हमालले कार्यक्रममा मन्तव्य राख्ने क्रममा आफ्नो लागी उक्त भूमिका एकदमै चुनौतीपूर्ण रहेको बताइन् । साथै उक्त भूमिका गर्नका लागी आफुले तीन महिनासम्म दृष्टिविहिन जस्तै भएर अभ्यास गरेको अनुभव पनि सुनाइन् ।

डा. सुरज शाक्यको प्रबन्ध र फिरोज शाक्यको संयोजनमा उक्त कार्यक्रम आयोजना भएको थियो । दृष्टिवान भएर पनि दृष्टिशक्ति नभएकाहरुको जीवनलाई प्रयोगात्मक अनुभव गराउने यस प्रकारको नौलो कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति म आभारी छु । यो कार्यक्रमका सहभागी भएपश्चात दृष्टिशक्ति नभएका मित्रहरुको संसारलाई मैले धेरै नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने मौका पाएँ । यो कार्यक्रमबाट मेरो सोचमा परिवर्तन ल्याइदियो, मेरो दृष्टिकोणलाई नयाँपन दियो । यस कार्यक्रममा सहभागी भएपछि दृष्टिशक्ति नभएका, गुमाएका व्यक्तिहरुको कथाव्यथालाई केही नजिकबाट बुझ्ने मौका पनि पाएँ । त्यस्ता व्यक्तिहरुको लागी के गर्न सकिन्छ भन्ने योजनाको परिकल्पना तयार गर्ने बिचार पनि दियो । भविष्यमा समय र अवसरले साथ दिए दृष्टिशक्ति नभएका व्यक्तिहरुको लागी मैले केही योगदान दिन सके म चुक्ने छैन । यसरी नै यस कार्यक्रममा सहभागीहरु लगायत पदयात्रा अवलोकन गरेका अन्य व्यक्तिहरुमा पनि दृष्टि शक्ति नभएका व्यक्तिहरुको समस्याकाबारे र त्यस्ता समस्याको समाधान, उन्मूलनकाबारेमा जनचेतना पक्कै जागेको हुनु पर्छ ।

Categorized in विचार