arin enterprises

सँस्कृतिविद् जुजुलाई सम्झिँदै श्रद्धान्जली दिइयो

SamacharDesk – कल्चर ब्युरो | २०७५ भाद्र २, शनिबार

सँस्कृतिविद् स्व. वलदेव जुजुलाई सम्झिँदै काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । राजोपाध्याय समाजले नेपाली सँस्कृति क्षेत्रमा सँस्कृतिविद्को रुपमा परिचित समाजका सल्लाहकार साथै आजीवन सदस्य जुजुलाई सम्झिँदै श्रद्धान्जली सभाको आयोजना गरेको हो ।

कार्यक्रममा प्राध्यापन क्षेत्रमा स्व. जुजुका सहकर्मी नेपालभाषा शिक्षक राजा शाक्यले सँस्कृति क्षेत्रका विविध पक्षमा जुजुलाई प्रगतिशील विचारकको रुपमा व्याख्या गरे । उनको सँस्कृतिलाई हेर्ने हेराईमा प्रगतिशील विचारधारा देखिने शाक्यको भनाई थियो । कतिपयले जुजुका लेख, कृतिलाई कल्पना भन्ने गरेतापनि त्यहि कल्पना अनुसन्धानको जग भएकोमा शाक्यले जोड दिनुभयो । 

त्यसैगरी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले नेवार साथै समग्र नेपालकै सँस्कृतिको सुक्ष्म अध्ययन गर्ने हो भने र सँस्कृतिलाई सुक्ष्म तहसम्मै पुगेर बुझ्ने हो भने जुजुको कृति एवम् लेखहरुको अध्ययन गर्नैपर्नेमा जोड दिनुभयो । 

नेपालभाषा मंकाः खलःका सचिव नरेशबीर शाक्यले नेवार समाजमा वौद्ध समाजमा बज्राचार्य र सनातनी समाजमा राजोपाध्याय गुरु पुरोहितको रुपमा रहेको चर्चा गर्दै बज्राचार्यहरुमा कलम चलाउने केही व्यक्तिहरु देखिएपनि राजोपाध्यायमा भने निकै थोरै मात्र अध्ययन अनुसन्धान र लेखन क्षेत्रमा देखिएको बताउनुभयो । तिनै थोरै लेखकमध्ये स्व. जुजुको लेखन विशिष्ट शैलीको रहेको शाक्यको भनाई थियो ।

राजोपाध्याय समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्यायले स्व. जुजुकै शिक्षा र मार्गनिर्देशनले आज धेरैले अध्ययन, अनुसन्धान क्षेत्रमा सफलता पाइरहेको उदाहरण उहाँले दिनुभयो ।

कार्यक्रममा स्व. जुजुको परिचय दिने क्रममा राजोपाध्याय समाजका उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले उहाँ सँस्कृतिविद् मात्र नभई संगीतविद् समेत भएको बताउनुभयो । विभिन्न राग, तालका ज्ञाता समेत रहेका जुजु संगीत क्षेत्रमा पनि विभिन्न सम्मानबाट सम्मानित भइसक्नुभएको जानकारी उपाध्यक्ष राजोपाध्यायले दिनुभयो ।

कार्यक्रमको शुरुवातमा नेपालभाषा मंकाः खलःका सचिव नरेशबीर शाक्यले दियो बाल्दै स्व. जुजुप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । साथै राजोपाध्याय समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्याय र जुजुका सुपुत्र अनिल जुजुले उनको तस्वीरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णले स्व. जुजुको तस्वीरमा फुल चढाउँदै श्रद्धान्जली अर्पण गरे । कार्यक्रममा जुजुको जीवन र उनको योगदानबारे चर्चा भइरहँदा कार्यक्रमको वातावरण भावविह्वल बनेको थियो । 

सँस्कृतिविद् जुजुको गत श्रावण ९ गते बुधबार राती १२ः३० बजे निधन भएको थियो । सँस्कृतिविद् स्व. जुजु केही समय अगाडिबाट अल्जाइमर डिजिजबाट ग्रसित थिए । स्व. जुजुका सँस्कृति सम्बन्धि नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा, कान्तिपुर, येँ देयया वंघःत्वाः व आजुद्यः, नेवाः संस्कार व उकिया विधि, मृत्यु संस्कार नेवाः संस्कृति कथं लगायतका विश्लेषणात्मक पुस्तकहरु प्रकाशित छन् । स्व. जुजु राजोपाध्याय समाजका सल्लाहकारका साथै वैदीक प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत हुन् । साथै उहाँ सरस्वती क्याम्पसमा क्याम्पस प्रमुख समेत भईसकेका छन् ।

 

'तलको लिंकमा क्लिक गरी यो समाचार पनि पढ्नुहोला ' 

सँस्कृतिविद् वलदेव जुजु रहेनन्

Categorized in संस्कृति