arin enterprises

होशियार, असंमा पनि माफियाहरुको गिद्धे दृष्टि गडिसकेको छ

SamacharDesk – याद्दवलाल कायस्थ | २०७५ फाल्गुण ७, मंगलबार

स्वर्ग जस्तो देश नेपाल, नेपालको महत्त्वपूर्ण, अति सुन्दर, सम्वेदनशील शहर काठमाडौं उपत्यका, हालै विश्व प्रशिद्ध लोनली प्लानेटले सार्वजनिक गरेको विश्वको घुम्न लायक १० शहरमध्ये काठमाडौं पाँचौ स्थानमा पर्न सफल भएको छ । यहाँ भएका सांस्कृतिक मूर्त, अमूर्त सम्पदाकै कारण काठमाडौं विश्वको घुम्न लायकको शहर बन्न सफल भएको भन्दा कसैको विमती नहोला ।

यस्तै एउटा विभिन्न मूर्त, अमूर्त सम्पदासँग सम्बन्धित, सम्पदाले भरिपूर्ण, काठमाडौंको मुटु वा केन्द्र हो असं अथवा असन । काठमाडौं मात्र होइन, नेपालभरि नै भीडभाड र ठेलमठेलको उपमा दिनुपर्ने अवस्थामा ‘असंको जस्तो भीड’ भन्ने चलन छ । 

काठमाडौंको बीच भागमा परेको असं यहाँको परम्परागत बजार पनि हो । नुनदेखि सुनसम्म सम्पूर्ण सामान एकै ठाउँ किन्न पाइने ठूलो बजारको रुपमा असं अहिले पनि परिचित छ । ६ वटा बाटो एकै ठाउँमा जोडिएको फराकिलो चोक र विभिन्न देवीदेवताको मन्दिर रहेको पवित्र स्थल भएको कारणले पनि असंमा बिहान सबेरैबाट किनमेलको साथमा देउता दर्शन र पूजाआजा गर्नेको भीडभाड सुरु भइसक्छ ।

असंको नाम असं वा असन कसरी रहनगयो भन्ने विषयमा एउटा रोचक किम्वदन्ती यससँग जोडिएको छ । परापूर्वकालमा थिमिका एकजना ब्यापारीले सामानको भारी बोकेर असं पुगेछन् । असं पुगेर थकाईको साथै भोक पनि लागेर असंमा अवस्थित अन्नपुर्ण मन्दिरनेर भारी बिसाएर खाजा खान हिँडेछन् । फर्केर आई हेर्दा आफुले छोडेको सामान त्यहाँ रहेनछ । सामान कहीँकतै नदेखिएपछि उनले सबलाई ‘अनसं तयागु’ (त्यहिँ राखेको) भनेछन् । परिवारमा पनि सामान कता छोडेर आयौ भन्दा अनसं तयागु नै भनेछने । त्यही अनसं पछि अपभ्रम्श भई असन हुन गयो । स्थानीय नेवाः भाषाको बोलीचालीको प्रकृती अनुसार असन शब्दमा ‘न’ लोप भई असं बन्न पुग्यो । र अझ पनि स्थानीय नेवाःहरुले असनबाट वा असनमा भन्नुपर्दा असनं (असनबाट) वा असनय् (असनमा) नै भन्ने गरेका छन् ।

असंमा मानिसको मात्र भीड हुने होइन, विभिन्न देवीदेवताको पनि सानोतिनो भीडै नै छ भन्न सकिन्छ । असंको बीचमा अन्नपूर्ण देवीको मन्दिर छ । स्थानीय नेवारहरुले यस देवीलाई ‘असंमदु अजिमा’ अथवा ‘असंभुलु अजिमा’ भनी सम्वोधन गर्ने गरेका छन् । यो असनको सबैभन्दा प्रख्यात मन्दिर हो । यसका साथै यहाँ गणेश, लक्ष्मीनारायण, उमामहेश्वर र कुमारी लगायतका मन्दिरहरु पनि रहेका छन् ।

यी सबै देवीदेवताको बीचमा करीब असं चोकको बीच भागमा, अर्को एउटा मूर्ति पनि छ जसलाई सधैं असं पुगिरहनेहरुले पनि खासै ध्यान दिएका हुँदैनन् । त्यो हो एउटा माछाको मूर्ति । असंको बीचमा कुनै माछाको मूर्ति पनि छ भन्ने धेरैलाई हेक्का रहेको पाइँदैन । सो माछालाई फूल, अक्षताले पूजा गरिरहने कतिपयले आफुले के वा कसलाई पूजा गरेको अथवा यो कुन भगवान हो भनेर थाहा नै पाएका हुँदैनन् । किनभने माछो रहेको त्यो ठाउँ अक्सर पानीले भरिएको हुन्छ र माछोचाहिँ पानीमा डुबेको हुन्छ । 

यहि माछाको मूर्तिसँगै ज्योतिष बाउछोराको किम्वदन्ति एउटा पनि जोडिएको छ । जुन किम्वदन्तिले गुरु शिष्य बीचको सम्बन्धको महत्व वा मर्यादाको शिक्षा पनि दिइरहेको हुन्छ । र सामाजिक सन्देश पनि यस किम्वदन्तिले बोकेको छ । त्यो किम्वदन्तिको बारे विस्तृतमा अन्य कुनै बेला चर्चा गरौंला । यसको साथै असंको पश्चिम कुनामा हिगाःद्यः पनि रहेको छ । 

देवीदेवता र मन्दिर जस्ता सांस्कृतिक पक्षहरुका साथै असंको अर्को एउटा परिचय पनि छ, जुन निकै महत्वपूर्ण पनि हो । असंलाई नेपालकै पहिलो खुला डिपार्टमेन्टल स्टोर भन्न सकिन्छ । आजभन्दा ८ सय वर्ष पहिले नै असं क्षेत्र ‘डिपार्टमेन्टल स्टोर’को रूपमा विकास भईसकेको थियो । असं बजारको विविधताले नै यो कुरालाई पुष्टि गर्छ ।

सर्वेक्षणले भोटाहिटिबाट मात्रै एकै दिनमा ८५ हजार जना मानिसहरु असं क्षेत्रमा प्रवेश गर्ने देखाएको थियो । यो ३० बर्ष अघिको कुरा हो । अहिले त काठमाडौंको जनघनत्व र असंको भीडभाड झनै बढिसकेको अवस्था छ । अहिले किनमेलका लागि एकैदिन कति ग्राहक असनमा पुग्छन् होला त ? यो प्रश्नको सवालमा कुनै यकिन तथ्यांक त भेटिँदैन तर यहाँ रहेका पसलहरुको संख्या र यहाँ दैनिक हुने व्यापारले केही अनुमान गर्ने ठाँउ भने दिन्छ ।

बास्तुकला बुझ्नेहरु भन्छन्, असं ‘बनेको’ होईन ‘बनार्ईएको’ व्यापारिक ठाँउ हो । यहाँ ६ वटा बाटाहरुको संगमस्थल अथवा जक्सन हो । यी सबै बाटाहरुको कोण मिल्यो भने यसले षट्कोणको आकार ग्रहण गर्छ । षट्कोणलाई पुर्वीय दर्शनमा शुभ चिह्न मानिन्छ । यो क्षेत्र कतिसम्म शुभ ठाँउ हो भने, मच्छिन्द्रनाथको जात्रा यहाँ नपुगी पूरा नहुने जनविश्वास छ । त्यसैले व्यापारिक दृष्टिकोणले पनि असंलाई शुभ ठाँउ मानिन्छ ।

अझ रमाईलो कुरा के छ भने, ६ वटा कोण अर्थात बाटोमा भिन्दा भिन्दै किसीमका सामान पाईन्छ । एउटा बाटालाई एउटा प्रकारका उत्पादनहरुको डिपार्टमेन्टको रुपमा देख्न सकिन्छ । असंको बजारलाई एकपटक कल्पना गरौं । असंबाट भोटाहिटी जाने बाटो स्टेशनरी तथा लत्ताकपडाको बजार हो । त्यसैगरी, असंबाट इन्द्रचोक जाने बाटो फलाम तथा काँसका भाँडाकुँडाको निम्ति प्रख्यात छ । बाङ्गेमुढा तर्फ लागे गरगहनाको तथा जडिबुटिको पसल भेटिन्छ । असंबाट जमलतिर निस्किए जुत्ता तथा सिलाईका पसल देखिन्छ । असंवाट महावौद्ध जाने बाटोमा धेरै विद्युतिय सामाग्रीका पसल छन् । त्यौडतर्फ लाग्दा जन्मदेखी मृत्यु संस्कारका लागी नभई नहुने सामाग्री साथै दैनिक उपभोग्य सामग्रीको लहर देख्न पाईन्छ । त्यसैगरी असं चोककै कुरा गर्दा, यहाँ तरकारीको बजार जमेको छ ।

यस्तो ऐतिहासिक, साँस्कृतिक महत्त्वको असंको मौलिकता अहिले संकटमा परेको छ । सयौं बर्षदेखि यहाँ बसोबास गर्दैआएका यहाँका रैथाने १४, १४ परिवार बसोबास गरिरहेको घरमा गुठी संस्थानले गिद्धे नजर गाडेको छ । उक्त घरलाई भत्काई बिजनेस कम्प्लेक्स खडा गर्ने घटिया सोच र योजना बनाएको छ गुठी संस्थानले । नेवारको परम्परागत गुठीको निरन्तरता र व्यवस्थाको लागी भनेर खडा गरिएको गुठी संस्थानले असंको मौलिक स्वरुपलाई मासेर असंको ऐतिहासिकता झल्काउने घरमा डोजर लगाएर, भत्काएर आधुनिक बिजनेस कम्प्लेक्स खडा गर्ने तानाबाना बुन्दै छ, गुठी संस्थानले ।

अब सोच्नुस न असं जस्तो बजारमा, heritage city काठमाडौं को मुख्य भागमा, core area मा आधुनिक, बिदेशी शैलीको अग्लो १४–१५ तले बिजनेस कम्प्लेक्स खडा भएपछि असंको अस्तित्व, नेवाः सभ्यता, काठमाडौंको चिनारि, नेपालको पहिचान नै ICU मा पुग्ने पक्का छ । आधुनिक शैलीको बिजनेस कम्प्लेक्सकै कारण यहाँको परम्परागत बजार विस्थापित हुने पक्का छ । यहाँ सानोतिनो व्यापार, व्यवसाय गरेर बसेका यहाँका स्थानीय व्यापारीहरु विस्थापित हुने नै छन् ।

त्यसैले ऐतिहासिक असं बचाउन, नेवाः सभ्यता जोगाउन, काठमाडौंको चिनारिको रक्षा गर्न र नेपालकै पहिचान जोगाउन समयमै सबै सचेत होऔँ र असं बचाउने अभियानमा साथ दिनुहुनको लागि सादर अनुरोध छ ।

Categorized in बिचार
SKIP THIS four nine