‘भगवान कलाकारले देखेका हुन्छन्’
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ बैशाख ४, बुधबार
चाकुपाटको क्लासिक ग्यालरीमा राम्रै भीड लागेको थियो । अनि त्यो भीडमा कहिले यता त कहिले उता गर्दै संयुक्तलाई फुर्सदै थिएन । आफुले रचेका चित्रकला र त्यससँग सम्बन्धित कथाहरु बेलिविस्तार लाउँदै थिए संयुक्त । निकै उत्साहित साथै प्रसन्न मुद्रामा संयुक्त चित्रसँगका आफ्ना भावनाहरु सुनाउँदै थिए ।
सन्दर्भ हो मंगलबारबाट ललितपुरको चाकुपाटस्थित क्लासिक ग्यालरीमा शुरु भएको कलाकार संयुक्त श्रेष्ठको एकल चित्रकला प्रदर्शनीको । डेढ दशक अगाडीबाट लन्डनमा वसोवास गर्दै आएका संयुक्तको २१ वर्षपछि एकल चित्रकला प्रदर्शनी ललितपुरमा शुरु भएको हो । योभन्दा अगाडी सन् १९९८ मा दरवागरमार्गस्थित काठमाडौं ग्यालरीमा उनको एकल चित्रकला प्रदर्शनी भएको थियो ।
मंगलबारबाट शुरु भएको संयुक्तको एकल चित्रकला प्रदर्शनीलाई ह्यूजला (द फायर अफ चेन्ज) नाम दिइएको छ । जम्मा २३ वटा चित्रहरु राखिएको यो प्रदर्शनी आउने विहीबारसम्म हुनेछ ।
प्रदर्शनीमा संयुक्तले सन् २०१५ देखि २०१९ सम्म बनाएका समसामयिक चित्रकलाहरु राखिएका छन् । तीमध्ये सवभन्दा बढि २०१७ मा बनेका १३ वटा चित्रहरु छन् भने सबभन्दा कम २०१५ मा बनेको एउटा चित्रकला रहेको छ ।
त्यसैगरी २०१८ मा बनेका बनेका ५ वटा चित्रकला रहेका छन् भने २०१९ मा बनेका चार वटा रहेका छन् । हरेक चित्रमा नेपालको राजनैतीक, सामाजिक परिवेश, घटनाक्रमहरु देखिन्थ्यो । कुनै कुनै चित्रकला हेर्दा अमूर्त (Abstract) जस्तो देखिन्थे । यो चित्रकला कुन विधा अन्तर्गत पर्छ त ? ‘केही अमूर्त पनि भन्न सकिएला, तर यसमा रुप, स्वरुपहरु स्पष्टै देख्न सकिन्छ । त्यसैले अमूर्त होइन, समसामयिक (Contemporarily) भनौं न’ संयुक्तको उत्तर थियो ।
प्रदर्शनीमा राखिएका चित्रकला हेर्न आएका अवलोकनकर्ताहरु पनि चित्र हेरेर त्यसभित्र लुकेका देखाउन खोजिएका कथाको अनुमान लगाउँदै थिए । अवलोकनकर्ताको अनुमान आफ्नो भावनासँग ठ्याक्कै मेल खाएमा संयुक्तको ओँठमा खुसीसहितको मुस्कान दौडन थालिहाल्थ्यो । एउटा बेग्लै किसिमको प्रशन्नता उनको अनुहारमा झल्किन्थ्यो ।
२०१८ मा बनाइएको ‘राष्ट्रियता’ शिर्षकको चित्रकलाले धेरैलाई झड्का नै हान्यो । खप्परहरु माथि उभिएको नेपालको झन्डा ओढाइएको गाईको चित्र हेर्दै एकजनाले सोधे, ‘यो चित्रले के हिन्दु डोमिनेसन वा वाहुनवादको प्रतिनिधित्व गरेको हो ?’ संयुक्तले भने ‘exactly’
खोकनामा फास्ट ट्र्याकको नाममा त्यहाँको स्थानीय सम्पदा, स्थानीय वासिन्दाको आवास मासिन लाग्यो भन्दै काठमाडौंको नयाँ वानेश्वरमा विरोध प्रदर्शन भयो । त्यस प्रदर्शनमा प्रहरी दमन पनि भयो । त्यो कथा पनि संयुक्तले आफ्नो चित्रमार्फत पोखेका छन् । यस चित्रले पनि धेरैको ध्यान खिच्यो ।
२०१९मै बनाइएको एउटा चित्र निकै साधारण देखिन्थ्यो तर आकर्षक पनि । चित्रमा अरु केही थिएन, थियो त बस्, एउटा परम्परागत किसिमको छाता र परम्परागत किसिमकै जुत्ता । म आफै नसोधी बस्नै सकिन र सोधिहालें, ‘यो चित्र साधारण देखिए पनि गहिरो अर्थ छ जस्तो लाग्यो, के छ यसमा ?’
‘यो जयप्रकाश मल्लको छाता र जुत्ता हो । पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेपछि जयप्रकाशलाई उनको अन्तिम इच्छा सोध्दाखेरी उनले छाता र जुत्ता मागे । छाता भनेको श्रीपेच र जुत्ता भनेको पूरा देशकै भूभाग हो । जयप्रकाश त्यहि छाता र जुत्ता हो यो ।’ संयुक्तले जोड्दै लगे, ‘यो चित्रमा रङ र यसमा भएका वस्तुको मात्र कथा होइन, यसको आकारले पनि अर्थ बोकेको छ । छाता र जुत्तालाई एउटा सानो चित्र बनाएनि पुग्थ्यो । तर यो विशाल देखिनुपर्छ र अवलोकनकर्ताले यसमा आफ्नो प्रतिविम्व महसूस गर्नुपर्छ ।’
२०१५ मा बनेको एउटै मात्र चित्र प्रदर्शनीमा राखिएको थियो । यसको कथा अझ महत्वपूर्ण नै रहेको छ । बिल्डिङ माइ काठमाडौं शिर्षक दिइएको यस चित्रमा एउटा मण्डलाभित्र रन्जना लिपिमा येँ लेखिएको छ । र काठका टुक्राहरु यसमा टाँसिएका छन् । यो चित्रले भने २०७२ को गोरखा भूकम्पको कथा भन्दै थियो ।
यो चित्रले बताउन खोजेको कथा सँगसँगै यसको पर्दा पछाडिको कथा पनि उत्तिकै रोचक छ । यसमा संयुक्तले ब्रस, रङहरुको संयोजन मिलाएका त छन् नै । उनको कल्पना भने यसमा बेग्लै किसिमको छ । भूकम्प जाँदा संयुक्त लन्डनमा थिए । उनलाई नेपालको चिन्ता लागिरहेको थियो । उनले नेपालको भूकम्प देखेका भने थिएनन् । मात्र कल्पना गर्दै थिए नेपालमा यस्तो भयो होला, उस्तो भयो होला ।
यसमा भूकम्पको क्षतिको भावना जगाउन उनले लन्डनमा आफ्नो घरको बगैंचामा बनाइएको काठको बारलाई भत्काए । त्यो भत्केको बारलाई हेर्दै भूकम्पको कल्पना गरे । र ब्रस चलाउन थाले अनि त्यसमा त्यहि बारका काठका टुक्राहरु टाँसे पनि ।
धेरै कथाहरु थिए संयुक्तले बनाएका ती चित्रकलाहरुमा । ती कथाहरु, आफ्ना भावनाहरु सुनाउँदै झन उत्साहित हुँदै थिए संयुक्त । एउटा चित्रले एउटामात्र होइन, धेरै कथाहरु भन्दै थिए । देशको चित्कार पनि पोख्दै थियो भने आम नेपालीको पीडा पनि देखाइ रहेको थियो ।
कुनै चित्रकला ईतिहासका पानाले सुनाएका घटनाक्रमसँग सम्बन्धित थिए । कुनै चित्रकलालाई संयुक्तले नेपालमा प्रत्यक्ष रुपमा हेरेका थिएनन्, मात्र सुनेका वा पढेका थिए । आफुले नदेखेका त्यस्ता घटनाहरुलाई कल्पना गर्दै चित्र कोर्न गार्हो भएन ?’
कलाकारको आँखाबाटै संसारले भगवान देख्यो । श्रृजना भनेको यहि नै हो ।
प्रश्नमा संयुक्तले प्रतिप्रश्न गरे, ‘तपाईंले भगवान देख्नुभएको छ ? या यहाँ कसले भगवान देखेका छन् त ? तर भगवानको तस्वीर त कोरियो नि हैन ?’ प्रश्नबाटै उत्तर आउँदैथियो । ‘त्यो मात्र एउटा कल्पना थियो । तर कलाकारको आँखाबाटै संसारले भगवान देख्यो । श्रृजना भनेको यहि नै हो । कलाकारको कल्पना जहाँ पनि पुग्दछ र त्यहि कल्पनाबाट श्रृजना पनि हुन्छ ।’
‘अब अर्को चित्रकला प्रदर्शनी कहिले हुन्छ छ ?’ चित्रकलाहरुको अवलोकन गरिसकेपछि धेरैले संयुक्तलाई यहि प्रश्न गरिरहेका थिए । मुसुमुसु हाँस्दै संयुक्तले भने, ‘सामूहिक प्रदर्शनी त लन्डनमा वर्षेनी भइरहेकै छ । एकल प्रदर्शनीको अहिले कुनै तयारी वा योजना त छैन । पहिलोबाट दोश्रो प्रदर्शनीसम्म पुग्न २१ वर्ष लाग्यो । अब तेश्रो कहिले होला, मैले होइन, बरु मलाई नै समयले बताउला ।’
Categorized in विचार