arin enterprises

२०३०को फिफा विश्वकपको आयोजना तीन महादेशका ६ देशले गर्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १८, बिहिबार

फिफाले सन् २०३० को विश्वकप फुटबल तीन महादेशमा हुने पुष्टि गरेको छ । फिफाले २०३०को विश्वकप तिन महादेशको ६ वटा देशमा आयोजना गर्ने पुष्टि गरेको हो ।

स्पेन, पोर्चुगल र मोरक्कोले विश्वकप आयोजनाका लागि प्रस्ताव गरेकोमा अब अर्जेन्टिना, पाराग्वे र उरूग्वेमा पनि खेल गराउने गरि नयाँ प्रस्ताव फिफाले स्वीकार गरेको समाचार एजेन्जी एपीले जनाएको हो ।

अब युरोपका स्पेन र पोर्चुगल, अफ्रिकाको मोरक्को तथा दक्षिण अमेरिकाका अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी ६ राष्ट्रमा विश्वकप आयोजना हुनेछ ।

यो निर्णय आगामी वर्ष फिफाको कंग्रेसमा अनुमोदन हुने बताइएको छ ।

 

योसँगै सन् २०३० को विश्वकप एकभन्दा बढी महादेश र ६ राष्ट्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ ।

२०३० विश्वकपको उद्घाटन खेल १९३० को पहिलो संस्करणको विश्वकप आयोजना भएको उरूग्वेको रंगशालामा गर्ने प्रस्ताव गरेको छ ।

यदि २०३०को प्रस्ताव स्वीकृत भएमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी राष्ट्र हुनेछ । यसअघि सन् २०१०मा दक्षिण अफ्रिका विश्वकप आयोजना गर्ने पहिलो राष्ट्रि बनेको थियो ।

स्पेनले पछिल्लो पटक सन् १९८२ मा विश्वकप आयोजना गरेको थियो भने पोर्चुगलले कहिल्यै प्रतियोगिता आयोजना गरेको छैन । तर पोर्चुगलमा युरो २००४ आयोजना भएको थियो ।

विश्वकपको नियम अनुसार उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्को सबै सह–आयोजकका रूपमा स्वतः छनोट हुनेछन् ।

यस्तै फिफाले २०३४ को विश्वकपका लागि भने एसियाली फुटबल महासंघ र ओशिनिया फुटबल कन्फेडेरेसनका देशको प्रस्ताव मात्र स्वीकार गर्ने पुष्टि गरेको छ ।

यो निर्णयपछि साउदी अरेबियाले पहिलो पटक सन् २०३४ मा प्रतियोगिता आयोजना गर्नका लागि प्रस्ताव गर्ने घोषणा गरेको छ ।

Categorized in स्पाेर्ट्स