arin enterprises

ङातापोल मन्दिरको ३२० औं बर्षिक उत्सब मनाइयो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ १६, बिहिबार

 भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर आजबाट ३२० बर्ष लागेको छ । ३२० वर्ष अघि मन्दिर स्थापना गरिएको दिनको सम्झनामा आज मन्दिरको बुसादँ अर्थात बर्षबर्धन पूजा गरिएको छ ।

वर्षवर्धनको अवसरमा आज ङातापोलको गर्भमा रहेकी श्री सिद्धिलक्ष्मी देवीलाई छाग अर्थात बोका र हाँसको बलि दिएर विषेश पूजा गर्नुका साथै गजुरमा झण्डा फहराइएको थियो । यस मन्दिरमा आजको दिनको साथै बडादशैंको महानवमीबाहेक अरु बेला बलि पूजा गर्न नहुने मान्यता रहेको छ ।

यहाँ भक्तपुर तलेजु मन्दिरका मूल पूजारी राजोपाध्याय देव ब्राम्हण, जोशी, कर्माचार्य र ताल्चाभँडेल पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको पूजासँगै मन्दिरको वर्षबर्धन पूजा गर्ने गर्छन् ।

मन्दिरमा हुने पूजा तथा पुजारीको पारिश्रमिक भने गुठी संस्थानबाट व्यवस्थापन हुँदै आएको छ । बर्षबर्धन पूजाको प्रतीकस्वरुप मन्दिरको गजुरमा विधि विधानसहित भक्तपुर नगरपालिका ६ तुछिमला निवासी अवालहरुले झण्डोत्तोलन गर्ने प्रचलन रहेको छ ।

स्थानीय तुछिमला टोलसुधार समितिका पदाधिकारीहरुले सवा दुई मिटर सेतो कपडामा रातो कपडाको अर्धचन्द्र अंकित ध्वजा मन्दिरको गजुरमा फहराउँदै आएका छन् ।

पाँच तल्लामध्ये दुई तल्लासम्म मन्दिरभित्रबाटै माथि जान सकिन्छ भने गजुरमा पुग्न तेस्रो, चौथो र पाँचौं तल्लाको छाना भएर जानुपर्छ । यी तीन तल्लामा मन्दिरको पछाडिपट्टिको छानाको प्वालबाट गजुर पुग्नु पर्ने हुन्छ ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले मन्दिरको सबैभन्दा माथिल्लो तलामा सामान्यक्षति पु¥याएको थियो । भक्तपुर नगरपालिकाले केहि वर्षअघि उक्त तल्लाको जीर्णोद्धार गरेको थियो । यस्तै १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तल्लामात्रै भत्किएको थियो ।

नेपालका विभिन्न मन्दिरहरु मध्ये सबैभन्दा अग्लो मन्दिरको रुपमा भक्तपुरको ङातापोल मन्दिरलाई लिइन्छ । प्यागोडा शैलीमा निर्मित ङातापोल भक्तपुर टौमढी क्षेत्रमा अवस्थित छ ।

यो मन्दिर भक्तपुरका तत्कालीन राजा भूपतीन्द्र मल्लले बनाउन सुरु गरि नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ । साथै उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन यहाँ सिद्धिलक्ष्मी देवी स्थापना गरि पहिलो बर्षबर्धन पूजा गरेको पनि उल्लेख पाइन्छ ।

यहि इतिहासलाई आधार मानेर वर्षेनी प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिनमा ङातापोल मन्दिरको वर्षबर्धन पूजा गरिँदै आएको छ । काठमाडौं उपत्यकामा मन्दिर, देवल आदि स्थापना भएको दिनमा बुसादँ पूजा गर्ने चलन रहेको छ ।

 

Categorized in संस्कृति