विभिन्न घटनामा ४ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

बाग्लुङ ढोरपाटन नगरपालिका २ अर्नाकमा एउटा घर पहिरोले पुरिँदा एक किशोरीको मृत्यु भएको छ ।
प्रकाश परियारको घर पहिरोले पुरिँदा उनकी १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको हो ।
लगातारको वर्षाको कारण मंगलबार बिहान गएको पहिरोले परियारको घर पुरिएको थियो ।
उद्धारमा खटिएको ईलाका प्रहरी कार्यालयको टोलीले खोजी गर्ने क्रममा पुजाको शव फेला परेको हो ।
त्यसैगरी मोरङ कानेपोखरी गाउँपालिका ४ स्थित राते खोलामा डुबेर सोही ठाउँ बेलबारी कसेनी बस्ने ५५ वर्षीय बाबुराम पराजुलीको सोमबार मृत्यु भएको छ ।
निगुरो टिप्न जाने क्रममा लडेर उक्त खोलामा डुब्दा उनको मृत्यु भएको हो ।
साथमा सर्लाही मलंगवा नगरपालिका १ स्थित सोही नगरपालिका २ बस्ने निर्सल साहको सारदा प्लाई फ्याक्ट्रीमा काम गर्ने भारत बिहार बस्ने ३० वर्षीय राम जुलुम सिंहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ ।
फ्याक्ट्रीभित्र जेनेरेटरमा तेल हाल्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कञ्चनपुर बेलौरी नगरपालिका १ बैशाखीस्थित बिजुलीको मिटर बक्समा चट्याङ पर्दा सोही ठाउँ बस्ने २० वर्षीय लोकेन्द्र चन्दको सोमबार मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in समाज