विभिन्न स्थानवाट लागुऔषध सहित ५ जना पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०८० फाल्गुण २८, सोमबार

धादिङमा करिब नौ किलो चरेश सहित दुई जना पक्राउ परेको छ । धादिङ थाक्रे गाउँपालिका–३ अमर्खबाट नौ किलो पाँच सय ग्राम लागुऔषधी सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय सागर भन्ने नारायण दमाई रहेका छन् ।
आग्राबाट महादेववेशीतर्फ जाँदै गरेको ना.४ ख ४८३ नम्बरको बसलाई प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौंवाट ५ ग्राम ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँबजार डेरा गरी बस्ने सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ घर भएका २१ वर्षीय सुरेन मगर हन् ।
शनिबार राति टोखा नगरपालिका–९ गोंगबु शिवमन्दिरस्थित सडकबाट उनलाई ५ सय ४० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको डेराबाट ५ ग्राम उक्त पदार्थ प्रहरीले बरामद गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता बाँकेमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दुइजानालाई पक्राउ गरेको छ ।
आइतबार बिहान बाँके खजुरा गाउँपालिका–५ स्थित सडकबाट ६ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–२ बस्ने २० वर्षीय तुसार विक र मुगु छाँयानाथ गाउँपालिका–४ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–२ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध