arin enterprises

नेपाल सम्वत् ११४५ प्रारम्भ

SamacharDesk – राम डंगोल | २०८१ कार्तिक १७, शनिबार

नेपाल संवत् ११४५ शनिबारदेखि सुरु भएको छ ।

नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । नेपाल सम्वत्को सुरुवा राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी गराउनुभएको थियो ।

नेपाल संवत् नयाँ वर्षको स्वागतमा नेवार समुदायले शनिबार बिहान राजधानीको वसन्तपुरबाट सांस्कृतिक झाँकीसहित र्याली निकालेका छन् । सांस्कृतिक बाजागाजसहित नेवारी भेषभूषामा सजिएर नेवार समुदायहरुले धुमधामसम्ग नयाँ वर्ष मनाउँदै र्याली निकालिएको छ ।

र्याली वसन्तपुरबाट सुरु भई प्राचिन नेपालको सिमाना मरु, जैसिदेवल, लगन, वन्दे, ह्यूमत, कोहिटी, प्याफल, नरदेवी, बाँङ्गेमुढा, असन, इन्द्रचोक हुँदै पुन वसन्तपुरमा आई समापन भएको थियो । र्यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । भक्तपुरका राजा राघवदेवको आज्ञामा वि।सं। ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो।

नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।

नेपाल सम्वत् प्रवर्तक शंखधर साख्वाको नाममा नेपाल सम्वत् प्रचलनमा ल्याएको बारे विभिन्न किवंदन्ती रहेका छन् ।

जस अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो। त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए। अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ।

अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो ।

उनीहरूले जालसाजी गरेर राजालाई "यसले अनैतिक व्यापार गरेको छ" भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे ।

यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै "तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ" भने ।

गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्वत् चलेको भनाइ छ ।

यसैबीच नेपाल सम्वत् ११४५ को अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्नेखालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोलेजस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवतलाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्नेजस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








Categorized in राष्ट्रिय