arin enterprises

उपसभामुखमा रास्वपाले मगरलाई उठाउने

SamacharDesk | २०७९ माघ ६, शुक्रबार

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।

जस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उम्मेदवार उठाउने घोषणा गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताउनुभयो ।

मगरको मनोनयनमा सोबिता गौतम प्रस्तावक रहने पनि ढकालले जानकारी दिनुभयो । यसअघि गौतमलाई नै उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो ।

बैठकपछि सांसद इन्दिरा रानामगरले आफूले कानूनको अध्ययन नगरेको भएपनि कानूनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो । कानून नपढेपनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रहरुको अनुभव ३३ वर्षमा गरेको छु ।’

उपसभामुखको मनोनयन दर्ताको समय आज शुक्रबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गरिनेछ ।

भोलि बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनको लागि मतदान हुनेछ । उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरिरहेको छ ।

हिजोको संसद बैठकले एमाले सांसद देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरेको छ । प्रतिनिधिसभामा हिजो भएको निर्वाचनमा उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिनुभएको हो ।

Categorized in राजनीति