arin enterprises

बाल गायक एरोनको म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०७८ बैशाख ७, मंगलबार

कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले कीर्तिपुर नगरपालिकाले पनि स्थानीय विषय अन्तर्गत स्थानीय मातृभाषा नेपालभाषामा पाठ्यक्रमको विकास गरीरहेको बताउनुभएको छ ।

आज कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख रिजालले स्थानीय विषय नेपालभाषामा पठनपाठन गराउने घोषणा पहिले नै भइसकेको बताउँदै पाठ्यक्रम विकासको काम अघि बढ्दै गरेको जानकारी गराउनुभयो ।

यहाँको विविध जातिको विविध मातृभाषा नै राष्ट्रको पहिचान बनेको हुँदा राष्ट्रको पहिचान संरक्षणका लागि मातृभाषाको पनि संरक्षण हुनैपर्नेमा रिजालले जोड दिनुभयो ।

कार्यक्रममा बाल गायक एरोन महर्जनको नेपालभाषाको गीत ‘यःमां’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।

‘एरोनले अंग्रेजी वा नेपालीमा पनि गीत गाउन सक्थ्यो होला, तर एरोनले आफ्नो मातृभाषामै गीत गाएको देख्दा खुसी लागेको छ’ उपप्रमुख खड्काले भन्नुभयो ।

साहित्य र संगीतलाई भाषाले बाँध्न नसक्ने विचार राख्दै सबै समुदाय मातृभाषाको संरक्षणमा एकजुट भएर अघि बढ्नुपर्ने विचार रिजालले राख्नुभयो ।

कार्यक्रममा वरिष्ठ सिने पत्रकार साथै नेपालभाषाका प्रथम म्यूजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले म्यूजिक भिडियो विभिन्न पक्षहरुलाई केलाउँदै समीक्षात्मक टिप्पणी राख्नुभयो ।

नेवाः पत्रकार राष्ट्रीय दबूया केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले एराेनले नेपालभाषाकाे साँगितिक क्षेत्रकाे भविष्य उज्वल रहेकाे अनुभूति गराएकाे विचार राखे ।

कार्यक्रममा एरोनको परिचयात्मक भिडियो समेत प्रदर्शन गरिएको थियो भने एरोनले लाइभ गीत गाउँदै पनि सुनाएका थिए ।

सार्वजनिक गरिएको गीतको छायाङ्कन रक्कि महर्जनले गरेका छन् भने भिज्युअल एडिटिङ यौवन शाक्यले गरेका छन् ।

Categorized in पेजथ्री