arin enterprises

स्थानीय जात्रापर्वहरुमा नेपाली सेना सक्रिय भूमिकामा

SamacharDesk – बिराज | २०८१ जेठ २३, बुधबार

हुन त काठमाडौं उपत्यकाका प्राय जात्रापर्वहरुमा नेपाली सेनाको भूमिका रहिआएको छ । यहाँका प्राय रथजात्राहरुको साथै अन्य विभिन्न जात्रापर्वहरुमा नेपाली सेनाको सहभागीता र भूमिका देखिन्छ ।

गुर्जुपल्टन भनिने नेपाली सेनाको टोली यस्ता जात्रापर्वहरुमा बाजागाजा बजाउँदै सहभागी हुने गरेका छन् । त्यस्तै जात्रा सुरु वा सम्पन्न भएको संकेत स्वरुप नेपाली सेनाकै जवानहरुले सलामी दिने गरेका छन् ।

पछिल्लो समयमा यो बाहेक अन्य भूमिकामा पनि नेपाली सेनाको सहभागीता यहाँको जात्रापर्वहरुमा देखिन थालेको छ ।

यसको पछिल्लो उदाहरण बनेको छ, खोकनाको श्री सिकाली अजिमा (रुद्रायणी देवी) को १२ वर्षे जात्रा ।

प्रत्येक १२ वर्षमा सञ्चालन हुने श्री सिकाली अजिमाको जात्रा खोकनाबाट हनुमानढोका जाने परम्परा रहि आएको छ । यस क्रममा सिकाली अजिमाको देवगण झम्सिखेलस्थित श्री प्रधान सेनापतिको निवास हुँदै हनुमान ढोकासम्म पुग्ने गर्छन् ।

गत २०८० साल चैत्र २२ गते सिकाली अजिमाका देवगण हनुमान ढोका पुगेका थिए । यस क्रममा परम्परालाई निरन्तरता दिँदै देवगण झम्सिखेलस्थित प्रधान सेनापतिको निवास पुगे ।

परम्पराको निरन्तरतामा भने यस पालि केही नौलो कुरा भयो ।

विगतका वर्षहरुमा प्रधान सेनापतिको निवासमा भित्ता भत्काई बाटो बनाएर देवगण त्यहाँ प्रवेश पनि गर्थे र सोही बाटो भएर टेकुतर्फ प्रस्थान पनि गर्थे । तर यसपालि यसरी बाटो बनाउन भित्ता भत्काउनु परेन ।

देवगणको प्रवेश र प्रस्थानको लागि प्रधान सेनापति निवासको वरिपरि ३ वटा स्थायी श्री रुद्रायणी प्रवेश द्वार नै निमार्ण गरियो । सोही द्वार भएर प्रधान सेनापति निवास पुगेका देवगणलाई प्रधान सेनापतिले स्वागत र सम्मान समेत गरे ।

त्यसपछि सोही दिन चैत्र २२ गते सिकाली देवगण खोकनाबाट झम्सिखेल हुँदै पैदलै हिँडेर काठमाडौं टेकु पचली आइपुगे । टेकु पचलीबाट आवश्यक विधि पूरा गरी देवगण हनुमान ढोकाको नासल चोक पुगे ।

सोही दिन र त्यसको भोलि पल्ट २३ गते देवगणको नाच नासल चोकमा प्रदर्शन गरियो भने २९ र ३० गते तलेजु मन्दिर परिसर त्रिशुल चोकमा प्रदर्शन भयो । २०८१ बैसाख ९ र १० गते हनुमान ढोका कालभैरव पछाडी रहेको डबलीमा नाच प्रदर्शन गरियो ।

यसैको दौरानमा शार्दुल जंग गुल्मवाट सेनानी पूर्ण प्रजापती सहितको टोली बाजागाजाका साथ जात्रामा सहभागी भएका थिए ।

विशेष गरी राष्ट्रिय एकताको सन्देश र भावना फैलाउन नै नेपाली सेना स्थानीय जात्रापर्वहरुमा सहभागी हुन गरेको गुल्मपति सेनानी प्रजापति बताउँछन् ।

‘नेपालका कुनै पनि जात्रापर्व, संस्कृति भनेको नेपाल र नेपालीकै सम्पत्ति, सम्पदा हो । यसको संरक्षणमा सक्दो योगदान दिनुका साथै राष्ट्रिय एकताको भावना प्रवाह गर्न हामीहरु जात्रामा सहभागी हुने गर्छौं’ गुल्मपति प्रजापतिको भनाई हो ।

२०८० चैत्र ३० गते हनुमान ढोका परिसर, त्रिशुल चोकमा श्री सिकाली अजिमाको नाचको दौरान कार्यरथी विभागका उपरथी दिपक कुमार बानियाबाट सम्पूर्ण देवगणहरुलाई पूजा गरी विभिन्न सामग्री चढाइएको थियो ।

२०८१ साल जेष्ठ ६ गते देवगणहरु खोकना फर्किने क्रममा पनि देवगणसँगै शार्दुल जंग गुल्मबाट गुल्मपति प्रजापती सहितको टोली बाजागाजा बजाउँदै पैदलै हिँडेर हनुमान ढोकाबाट खोकनासम्मै पुगेका थिए ।

हनुमान ढोकाबाट खोकना फर्किने क्रममा झम्सिखेल पुगेका देवगणलाई प्रधान सेनापति निवासमा प्रधान सेनापतिले विदाई पनि गरेका थिए ।

यति मात्र नभई २०८१ जेष्ठ ७ गते खोकनामा भएको सिकाली अजिमाको नाच अवलोकनका लागि पनि प्रधान सेनापति खोकना पुगेका थिए । उक्त कार्यक्रमको दौरान प्रधान सेनापतिबाट सम्पूर्ण देवगणहरुलाई पूजा गर्दै विभिन्न सामग्री चढाइएको थियो ।

स्थानीय कला, संस्कृतिको संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दनका लागि पनि नेपाली सेनाको निरन्तर प्रयास रहेको गुल्मपति प्रजापति बताउँछन् ।

स्थानीय जनसमुदायबाट हुने सांसकृतिक कार्यक्रमहरुमा पनि अनुरोध भएमा आफुहरुबाट सक्दो सहयोग र साथ रहने प्रतिवद्धता प्रजापतिले ब्यक्त गरे

‘पछिल्लो समयमा नेपाली सेनालाई धिमेय् बाजा पनि सिकाउने गरेका छौं । साथै यहाँका राजमति कुमति, व छु गल्ली लगायतका लोकगीतको साथै आधुनिक लोकप्रिय गीतहरु पनि सेनाको संगीत टोलीलाई सिकाउने गरेका छौं’ प्रजापतिले भने ।

स्थानीय कला, संस्कृति, सम्पदामा नेपाली सेना सदैव सक्रिय रहँदै आएको र भविष्यमा पनि यसमा सक्दो प्रयास गरिरहने उनको भनाई छ ।

स्थानीय जनसमुदायबाट हुने सांसकृतिक कार्यक्रमहरुमा पनि अनुरोध भएमा आफुहरुबाट सक्दो सहयोग र साथ रहने प्रतिवद्धता प्रजापतिले ब्यक्त गरे ।

Categorized in संस्कृति