arin enterprises

वायु प्रदुषण गर्ने सवारी साधनलाई महानगरले कारबाही गर्ने

SamacharDesk | २०८० आश्विन २१, आइतबार

काठमाडौँ महानगरपालिकाले बढी वायू प्रदूषण फैलाउने सवारी साधनलाई जरिबानासहित कारबाही गर्ने भएको छ ।

शनिबार महानगरले एक सूचना जारी गर्दै मापदण्ड भन्दा बढी प्रदुषण फैलाउने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको हो ।

मापदण्ड विपरित गुड्ने सवारी साधनलाई काठमाण्डौ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ दफा ५२ को उपदफा ४ मा व्यवस्था भए अनुसार ३ लाख रुपैयाँसम्म जरिबाना गरी दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने सुचनामा जनाईएको छ ।

त्यसैगरी आदेश बमोजिमको कार्य नभएमा जरिवानाको तेब्बर अर्थात ९ लाख रुपैयाँ जरिवाना गराउने पनि सूचनामा उल्लेख छ । वायु प्रदूषणका मुख्य कारकहरुमध्ये गाडीबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेको महानगरको ठहर छ ।

साथै काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने गाडीको वायु प्रदूषण जाँच नियमित गर्ने पनि जनाएको छ ।

अहिले नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुवाँजन्य प्रदूषण, उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरुमा सञ्चालन भइरहेका गाडीहरुको धुवाँ निष्काशनको अत्यन्त दयनीय अवस्था समेत देखिएकाले कडा कारबाहीको अभियान थालिएको महानगरले जनाएको छ ।

कुनै गाडीले धेरै धुवाँ फाल्ने र प्रदूषणको मापदण्ड पालना नगरेको शङ्का लागेमा सूचना दिन पनि काठमाण्डौ महानगरले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

Categorized in स्थानीय