arin enterprises

त्रिवि सेवा आयोगको रिक्त पदमा आवेदन खुला

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १९, सोमबार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने व्यक्तिको छनोट गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन् ।

शिक्षा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पद रिक्त हुँदा लामो समयदेखि काम अवरुद्ध भएको र अहिले नाम सिफारिस गर्न छनोट तथा सिफारिस समिति बनेको जानकारी दिँदै यस्तो भनेकी हुन् ।

सोही समितिले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम बनाएर दरखास्त आह्वान गरेको श्रेष्ठले बताइन् ।

आवेदक कम्तीमा १० (दश) वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तीमा २ (दुई) वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने बताइएको छ ।

साथमा आवेदकले बौद्धिक चोरीमा दोषी प्रमाणित नभएको स्व– घोषणा पनि संलग्न गर्नुपर्ने भनिएको छ ।

आवेदनको लागि यही चैत्र १८ गते सूचना प्रकाशन गरिएको थियो भने चैत्र २८ गते बेलुका पाँच बजेसम्म आवेदन पेस गर्नुपर्ने भनिएको छ ।

Categorized in राष्ट्रिय