मापसे जाँचबाट ६ महिनामा करीब ४ करोड राजश्व संकलन
SamacharDesk – बिराज | २०८० माघ १७, बुधबार

नेपाल प्रहरीले आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनालाई कारवाही गरेको छ । त्यसैगरी लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ जना पनि प्रहरीको कारवाहीमा परेका छन् ।
मापसेबाट गरिएको कारवाहीबाट कुल ३ करोड ९९ लाख ६९ हजार रूपैयाँ राजश्व संकलन भएको नेपाल प्रहरीले जनाएको छ ।
लहलहैमा लागेर घर भन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिन्छ ।
यस्तो परिस्थितीमा यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना न्यूनिकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको प्रहरीको भनाई छ ।
‘दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक छ’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन् ।
यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना कारवाहीमा परेका छन् ।
त्यस्तै बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जनालाई कारवाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट भन्छन्, “उपत्यकाका धैरै ठाउँमा सवारी साधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेको कारण चालकहरू सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको छ । यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनिकरणको लागि विषेश जोड दिँदै आएका छौं ।”
सो अवधिमा कारवाहीमा पर्नेहरूबाट काठमाडौं उपत्यकामा १ करोड ८६ लाख २७ हजार रूपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रूपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रूपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रूपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रूपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।
सोही अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् ।
मधेश, बागमती र कर्णाली प्रदेशमा कारवाही संख्या शून्य छ ।
मापसे चेकिङका लागि सीमित जनशक्ति र सिसिटिभि क्यामराको पहुँच र ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त नभएको अवस्थामा चेकजाँचमा प्रहरीको सक्रियता कायम नै रहेको नेपाल प्रहरी बताउँछ ।
‘मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक सहकार्य र समन्वयको आवश्यकतालाई मनन गरेर सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर हामी अगाडि बढेका छौं । हाम्रो मुख्य ध्यान भनेको दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो’ प्रहरी नायव महानिरीक्षक ढकालको भनाई हो ।
Categorized in राष्ट्रिय