असार १५ धान दिवस ; आत्मनिर्भर बनौं
SamacharDesk – राम डंगोल | २०८० आषाढ १५, शुक्रबार

असार १५, हरेक नेपालीको लागि दहि चिउरा खाने दिन, रोपाईं पर्व, राष्ट्रिय धान दिवस । असार १५ लाई नेपालीहरु यसरी नै विभिन्न नामहरुले हरेक वर्ष मनाउँदै आएका छन् ।
नाम जुनै भएपनि दिन वा दिवसको मूल सार, कृषि । किसानहरुको लागि दशैंकै रुपमा लिने यो पर्व “मानो रोपेर मुरी फलाउने” महिना पनि हो ।
नेपालले २०६२ सालदेखि असार १५ लाई “राष्ट्रिय धान दिवस” कै रुपमा मनाउँदै आएको छ ।आजको दिन खेतमा धान रोपाईंसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनारेञ्जन गर्ने र दही चिउरा खाने गरिन्छ ।
कामको चटारोले थकित किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खानलाई पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिले पहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।
‘छुपु र छुपु ‘असारे महिनैमा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन् है मच्याङले रुँदै धरर
डाँडा पारि छ, कम्पनी शहर
रोपाइँमा गाइने यस्ता असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराउन थालेको छ ।
कारण हो, उर्बर भूमि बाँझो हुनु, कृषि प्रधान देश भए पनि कृषि मैत्री नीति नहुनु र किसानहरुले गरेको मेहनतको उचित फल प्राप्त नहुनु ।
देशमा उपलब्ध युवा जनशक्तिहरुको बढ्दो विदेश पलायनले गर्दा पनि नेपाली कृषि उत्पादनमा प्रत्यक्ष असर पारेको देखिन्छ ।
अहिलेको समयमा नेपालमा एक वा दुई जना विदेश पलायन नभएको परिवार भेट्न गार्हो भइसकेको अवस्था छ ।
यिनै विविध कारणले नेपालको कृषि उत्पादनमा प्रत्येक वर्ष र्हास हुँदै आएको छ ।
यसबाहेक नेपालको उत्पादकत्व घट्दै जानुको मुख्य कारण सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुनु पनि हो ।
त्यसमध्ये पनि खेती भएको जमिनमा धान उत्पादन गर्नका लागि आवश्यक मल समयमै किसानहरुले नपाउनु नै सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ ।
हुन त यसपालिको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका अवसरमा नेपालमै भारतको सहयोगमा मल कारखाना बनाउने भनिएको छ ।
यतिबेला हामी राष्ट्रवादका कुराहरु उठाइरहेका छौं । राष्ट्रवाद हुनु राम्रो हो तर सच्चा राष्ट्रवाद त्यो हो जुन अरु देशमा परनिर्भरता हुँदैन ।
अहिले नेपालीहरु दैनिकी विहानदेखि रातीसम्म नै विदेशमा निर्मित वस्तुहरु प्रयोग गरिरहेको अवस्था छ ।
नेपाली भान्छामा पाक्ने चामल आधा भन्दा बेसी प्रतिशत भारतबाट आयात गरेर खाइराखेका छौं । नेपालमा उत्पादन हुने धानको लागि पनि दुःखको कुरा भारतले रासायनिक मल पठापछि मात्र यता रोपाइँ सुरु हुन्छ ।
नेपालमा बहुदलपछि दर्जनौं पार्टीका दर्जनौं सरकार बने, दर्जनौं प्रधानमन्त्री, कृषिमन्त्रीहरु बने तर देशलाई अति आवश्यक नेपालमै रासायनिक मल कारखाना खोलेर कृषिमा आत्मनिर्भर हुने योजना भारतको डरका कारण कुनै सरकार वा प्रधानमन्त्री, कृषि मन्त्रीले आँट्न सम्म सकेको छैन ।
देशलाई आवश्यक हरेक कलकारखानाहरु निर्माण गरेर परनिर्भरता हटाउनु आजको मुख्य आवश्यकता बनेको छ । तर नेपालमा अहिले सरकारी कलकारखानाहरु प्राय सबै बन्द नै छ ।
निजीस्तरबाट खुलेका कारखानाहरुलाई पनि विभिन्न षड्यन्त्रपूर्ण तरिकाले बन्द गराउने यहाँका नेताहरु लागि परेको देखिन्छ । जसले गर्दा नेपालीहरु झन्झन् विदेशकै भर पर्नुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको छ ।
त्यस्तै कृषि क्षेत्रमा पनि नेपाली जनताले उत्पादन गरेका हजारौं मेट्रिक टन तरकारी उचित भाउ, बजार नपाएर बारीमै कुहाउनुपर्ने, बाटोमा फ्याँक्नुपर्ने र गाइवस्तुलाई खुवाउनुपर्ने अवस्था छ भने त्यसको ठिक उल्टो विदेशबाट आयात गरेको तरकारीहरु महंगो मूल्यमा नेपाली जनताले किनेर खानुपरिरहेको छ ।
तसर्थ नेपालमा कृषि नीति प्रभावकारी बनाउने हो भने सबैभन्दा पहिला यहाँ उत्पादित वस्तुहरुलाई ग्राहकसम्म उचित मूल्यमा पुर्याउने गर्नुपर्दछ ।
किसानहरुले पनि बढी भन्दा बढी आफ्नो उत्पादनको उचित मूल्य पाउनु पर्दछ । सबैभन्दा पहिला उत्पादित वस्तुलाई नेपाली वस्तुसँगै मात्र प्रतिस्पर्धा गराउन सक्नुपर्दछ न कि विदेशी वस्तुसँग ।
सरकारले आप्mनो देशमा उत्पादित वस्तु भएसम्म विदेशबाट त्यस्ता सामानहरु आयात नै बन्द गर्नपर्दछ, जसले गर्दा यहाँका किसानहरुले आफ्नो मेहनतको उचित प्रतिफल प्राप्त गर्न सकोस् ।
तसर्थ अहिले हामीले उत्पादकत्व कसरी बढाउने, कसरी नेपाली जनतालाई आत्मनिर्भर बनाउने, अरु देशमा निर्भरता कसरी अन्त्य गर्ने भन्ने सोचतर्फ सबै लाग्नुपर्दछ । ताकी भारत तथा अन्य मुलुकहरुलाई हरेक क्षेत्रमा कडा जवाफ दिन सकोस् ।
अहिलेको समयमा सस्तो लोकप्रियताका लागि गरिएको नक्कली राष्ट्रवाद, स्टन्ट राष्ट्रवाद हैन विकोश राष्ट्रवादलाई सबै नेपाली जनताले आत्मसाथ गर्न जरुरी देखिन्छ ।
चलचित्र वहिष्कार मात्र गरेर पनि राष्ट्रवादी हुन सकिन्न । उत्पादन बढाउने, परनिर्भरतालाई निर्मूल गर्दै आत्मनिर्भर हुने, आयात भन्दा निर्यातको बढोत्तरी गर्ने जस्ता काम हुन सकेमा, या यस्ता कामको लागि टेवा दिन सकिएमा सच्चा राष्ट्रवादी बन्न सकिएला ।
Categorized in बिचार