arin enterprises

आयुर्वेद संरक्षण र संवद्र्धन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

SamacharDesk | २०७९ फाल्गुण १९, शुक्रबार

शुक्रबारबाट काठमाडौंमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु भएको छ ।

सो अवसरमा महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताउनुभएको छ । कार्यक्रममा तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अतिरिक्त औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्त्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाउनुभएको हो । उहाँले अति आवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवम् प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिनुभयो । उहाँले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गर्नुभयो । विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्ने गरी वातावरण तय गरिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट जडीबुटी खेतीका लागि अनुदानका लागि आवश्यक प्रबन्ध गरिने विश्वास दिलाउनुभयो ।

महर्षि वैदिक फाउन्डेसन, अन्तर्राष्ट्रिय महर्षि फाउन्डेनसन र अन्य आयुर्वेदसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनको मूल नारा ‘सम्पूर्ण स्वास्थ्यका लागि आयुर्वेद’ छ ।

आयुर्वेदको उद्गमस्थलका रूपमा रहेको नेपालमा आयोजित यस सम्मेलनमा ५० भन्दा बढी देशका आयुर्वेदविज्ञ, अनुसन्धानकर्ता, उद्योगी, चिकित्सकलगायत पाँच सय बढीको सहभागिता छ ।

आयुर्वेदको प्रचार–प्रसारमा सहयोग पुर्यातउने र स्वास्थ्य पर्यटनमा टेवा पुर्याथउने लक्ष्यका साथ सुरु भएको सम्मेलनमा चिकित्सकका अतिरिक्त विद्यार्थी, प्राध्यापक, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेदको प्रवर्द्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्त्व दिएको बताउनुभयो ।

उहाँले आयुर्वेद तथा प्राकृतिक चिकित्सा, जडीबुटीको क्षेत्रमा दुई देशले एकापसमा सहकार्यका लागि केही प्रयास अगाडि बढाइसकेको र आगामी दिनमा यसले थप सार्थकता पाउने उल्लेख गर्नुभयो । सम्मेलन आगामी आइतबारसम्म चल्नेछ ।

Categorized in राष्ट्रिय