भारत बसेका अष्ट्रेलियाली आफ्नै देश फर्कन नपाइने
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १९, आइतबार

अस्ट्रेलियन सरकारले भारतमा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलिया फर्किन प्रतिवन्ध लगाएको छ ।
अस्ट्रेलियन सरकारले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको र भारतबाट संक्रमण अष्ट्रेलिया भित्रिन सक्ने भन्दै यस्तो निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री ग्रेग हन्टले कम्तीमा १४ दिन भारतमा रहेका आफ्ना नागरिकहरु वा कुनै पनि व्यक्ति अस्ट्रेलिया आएमा पाँच बर्षसम्मको जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गरिने बताएका छन् ।
भारतीय नागरिकहरू सिंगापुर र युएई जस्ता बिभिन्न रुट हँुदै अस्ट्रेलिया आएको पाइएपछि अस्ट्रेलियन सरकार यस्तो कठोर नियम बनाएको हो ।
मन्त्री हन्टले भारतीय मूलका अस्ट्रेलियन नागरिक पछिल्लो साता पर्थ आएकोले पर्थमा संक्रमण फैलिएको कारण यस्तो कठोर निर्णय गर्नुपरेको बताए ।
साथै यो नियम अस्थायी भएको र कोरोना महामारीबाट अस्ट्रेलियन जनतालाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न वाध्यताबस लागू गर्नुपरेको समेत बताए ।
हाल भारतमा करिब ९ हजार अस्ट्रेलियाली नागरिक छन् भने तीमध्ये ६ सय जना भाइरसको उच्च जोखिममा रहेको जनाइएको छ ।
यस अघि नै अस्ट्रेलियाले भारतसँगको सिधा हवाइ सेवालाई प्रतिवन्ध लगाइसकेको छ ।
अस्ट्रेलियन सरकारले जैविक सुरक्षा कानुन २०१५ अनुसार नियतवस रोग फैलाउने उद्देश्यबाट आएको पाइएमा पाँच बर्षसम्मको जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलर जरिवाना हुनसक्ने हन्टले स्पष्ट पारेका छन् ।
हालसम्म संसारका कुनै पनि मुलुकले आफ्ना नागरिक स्वदेश फर्कन चाहे जेल सजाय र जरीवाना लगाउने नियम लागू गरेका देखिँदैन ।
३ मेदेखि लागू हुने यो नयाँ नियम कोरोना संक्रमणको सवालमा हालसम्म लागू विश्वकै कडा नियम भएको सम्वन्धित बिज्ञहरुले जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय