बडादशैंको दोश्रो दिन, ब्रह्मचारिणीको उपासना गरिँदै
SamacharDesk – बिराज | २०८० आश्विन २९, सोमबार

आज आश्विन शुक्ल द्वितीया, अर्थात नेपालीहरुको महान चाड बडादशैंको दोश्रो दिन ।
आज आआफ्नो दशैं घर वा आगम घरमा हिजो स्थापना गरिएको दुर्गामाताको प्रतिमाको साथमा नवदुर्गा गणको प्रतिक कलशहरुको पूजा गरिरहेका छन् ।
आज देशका विभिन्न शक्ति पीठहरुमा दर्शन एवम् पूजा अर्चना गर्नेको भीड लागेको छ । काठमाडौंमा विशेष गरी भद्रकाली, शोभा भगवती, इन्द्रायणी, गुह्येवरी, मैतिदेवी, दक्षिणकाली, नक्साल भगवती लगायतका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।
नवरात्रको क्रममा आज नवदुर्गाको दोश्रो रुप ब्रह्मचारिणीको उपासना गर्ने गरिन्छ ।
ब्रह्म अर्थात तप, ब्रह्मको आचरणमा बसेकी ब्रह्मचारिणी । शैलपुत्री वा पार्वतीले महादेव वर पाउँ भनी अमरनाथ गुफामा कठोर तपस्या गरिन् ।
वर्षौंसम्म कन्दमूल, बेलपत्र आदि मात्र खाएर तपस्या गरेपछि वर्षौंसम्म निराहार, निर्जल तपमा बसिन् । त्यसपछि यस्तो तप आजसम्म कसैले गरेको छैन भन्दै ब्रह्माले तपस्यामा बसेकी पार्वतीलाई मनोकामना पूरा होस् भन्ने वरदान दिए ।
शैलपुत्रीको यहि रुप नै ब्रह्मचारिणी हो । यिनलाई तपश्चारिणी, अपर्णा र उमाको नामबाट पनि चिनिन्छ ।
ज्योतिर्मय, अत्यन्त भव्य स्वरुप भएकी, गौरवर्णकी अर्थात् सेतो वर्णकी ब्रह्मचारिणीको निधारमा तेश्रो नेत्रसहित तीनवटा नेत्र छ । शिरमा अर्धचन्द्रको साथमा विभिन्न आभूषण धारण गरेकी उनको दायाँ हातमा जप माला र बायाँ हातमा कमण्डलु रहेको छ ।
यिनी पैदल सवारी नै गर्छिन् ।
आजको दिनमा ब्रह्मचारिणीको आराधना गर्नाले दीर्घायू, सुस्वास्थ्य, शक्ति, भौतिक सुखको साथमा दाम्पत्य सुख समेत पाउनुको साथै यिनको उपासना गर्नाले तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुने विश्वास रहेको छ ।
माता ब्रह्मचारिणीको कृपाले सर्वत्र सिद्धि र विजय प्राप्त हुने धार्मिक विश्वास रहेको छ । साथमा कुनै काममा वाधा, अवरोध खडा भएको छ भने ब्रह्मचारिणीको पूजा गर्नाले त्यस्ता वाधा अवरोध पनि हट्ने विश्वास पनि गरिन्छ ।
यिनको प्रिय वस्तुको रुपमा शख्खर वा चिनी चढाउने गरिन्छ ।
यिनलाई स्वाधिष्ठान चक्रको अधिष्ठात्रीको रुपमा लिइन्छ । अथवा भनौं साधकले स्वाधिष्ठान चक्रमा आफ्नो ध्यान केन्द्रीत गरी ब्रह्मचारिणीको साधना गर्ने गर्दछन् ।
तन्त्र वा कौलिक मतका अनुयायीहरु आज माहेश्वरीको उपासना गर्ने गर्दछन् । भक्तपुरमा हनुमानघाटस्थित माहेश्वरी पीठमा आज भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
Categorized in संस्कृति