बडादशैंको तेश्रो दिन, चन्द्रघण्टाको उपासना गरिँदैः भिडियाे सामग्रीसहित
SamacharDesk – बिराज | २०८० आश्विन ३०, मंगलबार

आज आश्विन शुक्ल तृतीया, बडादशैंको तेश्रो दिन । बडादशैंको सुरुवात सँगसँगै बजारमा किनमेल गर्नेको भीडभाड निकै बढेको छ ।
राजधानीको असन इन्द्रचोक लगायतको बजारमा दशैंंको लागि आवश्यक पूजा सामग्रीसँगै नयाँ लुगाफाटो किनमेल गर्नेको भीड नै देखिन्छ । साथमा चाड मनाउने घर फर्किनेको संख्या पनि दिनहुँ बढ्दो छ ।
बडादशैंको आज तेश्रो दिनमा, नवदुर्गाको तेश्रो रुप चन्द्रघण्टाको उपासना गरिँदैछ । महादेवको दुलही पार्वतीको रुप हो चन्द्रघण्टा ।
विहेको लागि दुलही लिन वरियातसहित पर्वतराजको घर पुगेका महादेवको दुलाह रुप चन्द्रशेखरकी दुलहीलाई चन्द्रघन्टा भनिएको हो ।
यिनको मस्तकमा घण्ट आकारको अर्धचन्द्र रहेको छ । त्यसैले पनि माता दुर्गाको तेश्रो रुपको नाम चन्द्रघन्टा रहेको हो ।
पहेंलो अथवा सुनौलो वर्णकी उनको दश हात छ भने बाघमा विराजमान छिन् । उनको दशमध्ये आठवटा हातहरुमा खड्ग, गदा, त्रिशुल, धनुष, वाण, कमण्डलु, अक्षमाला, पद्म छ । बाँकि दुई हातमध्ये एउटा अभय र अर्को हात वरद मुद्रामा रहेको छ ।
यिनको घण्टको जस्तो भयानक चण्ड ध्वनिले असुर, दानवहरु सधैं त्रसित रहने गर्दछन् । भक्तहरुको लागि भने उनको सौम्य तथा शान्तिदायक स्वरुप आनन्ददायी र कल्याणकारी रहेको छ ।
यिनको साधनाले वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुन्छ ।
कुण्डलिनी जागरणको क्रममा चन्द्रघन्टाको उपासनाले साधक मणिपुर चक्रमा प्रवेश गर्छन् ।
तन्त्र वा कौलिक मतका अनुयायीहरु भने आजको दिनमा कौमारीको पूजा उपासना गर्दैछन् ।
Categorized in संस्कृति